सल्यान, १२ मंसिर । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा […]
सल्यान, १३ मंशिर ।
बालबालिकाको स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यसहित सल्यानको कालिमाटी गाउँपालिकाले स्वर्णबिन्दु प्राशन कार्यक्रम सुरु गरेको छ । जिल्लामै पहिलोपटक स्थानीय सरकारको लगानीमा सुरु गरिएको कार्यक्रमको पहिलो दिन आइतबार ३५५ जना बालबालिकालाई स्वर्णबिन्दु प्राशन गराइएको छ ।
कालिमाटी गाउँपालिका, ४ स्थित नागरिक आरोग्य सेवा केन्द्र, डिमुरेमा आयोजित कार्यक्रमको गाउँपालिका अध्यक्ष दानबहादुर केसीले उद्घाटन गरेका हुन् । गाउँपालिका र वडा कार्यालयको आर्थिक लगानीमा सुरु गरिएको कार्यक्रम मार्फत अब सुरुवातमा ४ नं वडाका १२ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई प्रत्येक महिना स्वर्णबिन्दु प्राशन गराउने लक्ष्य राखिएको छ ।
कार्यक्रम सञ्चालनका लागि गाउँपालिकाले प्रत्येक महिना आयुर्वेद चिकित्सकको व्यवस्थापन तथा आवश्यक आर्थिक खर्च बेहोर्नेछ । वडा कार्यालयले पनि तत्कालका लागि दुई लाख रुपैयाँ सहयोग गरेको वडा अध्यक्ष बेल बहादुर चन्दले जानकारी दिए ।
नागरिक आरोग्य सेवा केन्द्र डिमुरेका अनुसार आयुर्वेद चिकित्सकको निगरानीमा स्वर्णबिन्दु तयार पारेर सोही दिन बालबालिकालाई सेवन गराइनेछ । यसपटक कार्यक्रमको सुरुवातका लागि आयुर्वेद स्वास्थ्य सेवा कार्यालय सल्यानबाट आयुर्वेद चिकित्सक डा. देवराज धिताल कालिमाटी पुगेका थिए ।
स्वर्णबिन्दु प्राशन आयुर्वेदको परम्परागत बालरोग चिकित्सा पद्धतिमा उल्लेख गरिएको विधि हो । यसमा शुद्धीकरण तथा प्रशोधन गरिएको सुनको भस्म, मह, घिउ र ब्राह्मी लगायत सामग्री निश्चित मात्रामा मिसाएर तयार गरिने वैद्य खड्क विकले जानकारी दिए । आयुर्वेदिक मान्यता अनुसार यसलाई बालबालिकाको शारीरिक तथा मानसिक विकास, स्मरणशक्ति र रोग प्रतिरोधात्मक क्षमतासँग जोडेर व्याख्या गरिन्छ ।
कार्यक्रम उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष दानबहादुर केसीले बालबालिकाको स्वास्थ्यमा लगानी गर्नु स्थानीय सरकारको महत्वपूर्ण दायित्व भएको बताए । आफ्नै पालिकामा सेवा उपलब्ध गराउने उद्देश्यले कार्यक्रम सुरु गरिएको उल्लेख गर्दै उनले सबै बालबालिकालाई यसमा समेट्ने लक्ष्य रहेको धारणा राखे ।
गाउँपालिका उपाध्यक्ष सन्सिलता वलीले बालबालिकाको स्वास्थ्य र सर्वाङ्गीण विकासलाई प्राथमिकतामा राखेर सुरु गरिएको कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिइन ।
प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर विक, आयुर्वेद चिकित्सक डा. देवराज धिताल, वडा नम्बर ४ का अध्यक्ष बेलबहादुर चन्द, स्वास्थ्य शाखा प्रमुख गोरखबहादुर थापा, वडा सदस्य लक्ष्मी सुनार लगायतले बोल्दै आयुर्वेदिक उपचार पद्धतिलाई पनि प्राथमिकतामा राख्नुपर्ने बिषयमा धारणा राखेका थिए ।
