सल्यान, ९ मंशिर । सल्यानको शारदा नगरपालिकाले सञ्चालन गरेको निःशुल्क […]
सल्यान, ११ मंशिर ।
सल्यानमा युवा मानव अधिकार रक्षकको आवाज बलियो बनाउन रणनीति तयार हुँदैछ । मानव अधिकार र सामाजिक न्यायका सवालमा आवाज उठाउँदा युवाहरूले भोग्दै आएका सामाजिक दबाब, दुर्व्यवहार र सुरक्षा चुनौती सम्बोधन गर्न सञ्चार तथा पैरवी रणनीति निर्माण गरिने भएको हो । यसका लागि युवा मानव अधिकार रक्षकहरूले तथ्यमा आधारित सूचना प्रवाह, सञ्चार माध्यमसँगको सहकार्य र योजनाबद्ध पैरवीलाई प्राथमिकता दिने भएका छन् ।
रोयम नेपालद्वारा सञ्चालित एकता परियोजना अन्तर्गत शुक्रबार सल्यानको खलंगामा आयोजित परामर्श कार्यशालामा युवा मानव अधिकार रक्षकहरूको आवाज प्रभावकारी बनाउने उपायबारे छलफल गरिएको हो ।
कार्यशालामा मानव अधिकार उल्लंघन, विभेद, सामाजिक अन्याय र सुशासनका सवाल उठाउँदा युवाहरूले भोग्नुपरेका सामाजिक दबाब, गलत सूचना, डिजिटल असुरक्षा र मनोसामाजिक तनाव लगायत चुनौतीबारे छलफल भएको थियो ।
जिल्ला समन्वय समिति सल्यानका उपप्रमुख असवीर बुढाथोकीले युवाहरूले उठाएका सवाललाई स्थानीय सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताउँदै उनीहरूको अभियानमा आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता जनाए ।
सिद्धकुमाख गाउँपालिकाका उपाध्यक्ष रामबहादुर बस्नेतले युवाहरूको क्षमता र सम्भावनालाई सही दिशामा परिचालन गर्न स्थानीय सरकार, सामाजिक संस्था र समुदायबीच सहकार्य आवश्यक रहेको बताए । शारदा नगरपालिका, ४ का वडाध्यक्ष किशोर हमालले तथ्य र प्रमाणका आधारमा नागरिकका सवाल सम्बन्धित निकायसम्म पुर्याउन युवाहरू सक्रिय हुनुपर्नेमा जोड दिए ।
कार्यशालामा सहभागी सरोकारवालाहरूले मानवअधिकार संरक्षण राज्य, नागरिक समाज, सञ्चार माध्यम र समुदायको साझा जिम्मेवारी भएको उल्लेख गर्दै युवा मानव अधिकार रक्षकको सुरक्षा र उनीहरूले उठाएका सवालको सम्बोधनमा सम्बन्धित निकाय जिम्मेवार हुनुपर्ने धारणा राखेका थिए ।
रोयम नेपालका कर्णाली प्रदेश संयोजक सन्तोष विकले सञ्चार तथा पैरवी रणनीति निर्माण र कार्यान्वयनका विषयमा सहजीकरण गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष डिल्लीराज रावत, गैरसरकारी संस्था महासंघ सल्यानका अध्यक्ष रामचन्द्र रेग्मी,अपाङ्गता कल्याणकारी संघ सल्यानका अध्यक्ष कृष्ण बुढा, युवा मानव अधिकार रक्षक सञ्जाल सल्यानकी उपाध्यक्ष खिमा बोहरा लगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
कार्यशालाबाट प्राप्त सुझावका आधारमा युवा मानव अधिकार रक्षकहरूको सञ्चार तथा पैरवी रणनीति तयार गरी कार्यान्वयनमा लगिने सञ्जालका सचिव प्रदीप घर्तीमगरले जनाए ।
