सल्यान, ७ मंशिर । सल्यानको कपुरकोट गाउँपालिका ४, धनवाङ्गमा चौथो […]
सल्यान, ९ मंसिर ।
सल्यानमा स्क्रब टाइफस संक्रमणको दर पछिल्लो समय घट्दै गएको देखिए पनि नयाँ संक्रमित भेटिने क्रम भने रोकिएको छैन । संक्रमण फैलिएको महिनौँ बितिसक्दा पनि जिल्लामा दैनिकजसो नयाँ संक्रमित थपिँदै गएका छन् । मंगलबार थप एक जनामा संक्रमण पुष्टि भएसँगै जिल्लामा संक्रमित हुनेको कुल संख्या ८६८ पुगेको छ ।
स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार मंगलबार १० जनाको परीक्षण गर्दा दार्मा गाउँपालिकाका एक पुरुषमा संक्रमण पुष्टि भएको हो । परीक्षण गरिएका अन्य नौ जनाको नतिजा नेगेटिभ आएको कार्यालयका जनस्वास्थ्य अधिकृत ताराप्रसाद रिजालले जानकारी दिए ।
जिल्लामा सबैभन्दा पहिले संक्रमण फैलिएको दार्मा गाउँपालिका र बागचौर नगरपालिकामा संक्रमितको संख्या अझै उच्च छ । हालसम्म बागचौरमा २७१ र दार्मामा २६५ जनामा संक्रमण पुष्टि भएको छ । बागचौरमा सरकारी स्वास्थ्य संस्थाबाट परीक्षण गरिएका १६३ र निजी स्वास्थ्य संस्थाबाट परीक्षण गरिएका १०८ जनामा संक्रमण देखिएको हो ।
स्वास्थ्य सेवा कार्यालयको तथ्यांकअनुसार कपुरकोट गाउँपालिकामा ८६, कुमाख गाउँपालिकामा ८३, सल्यान जिल्ला अस्पतालमा ८३ र छत्रेश्वरी गाउँपालिकामा ५८ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै, बनगाड कुपिण्डे नगरपालिकामा ११, त्रिवेणी गाउँपालिकामा ६, सिद्धकुमाख गाउँपालिकामा तीन र कालीमाटी गाउँपालिकामा दुई जनामा संक्रमण देखिएको छ । यसले जिल्लाका विभिन्न स्थानीय तहमा संक्रमण फैलिएको देखाउँछ ।
कार्यालयको तथ्यांकअनुसार कार्तिक ७ गतेसम्म जिल्लाभरका सरकारी स्वास्थ्य संस्थामा तीन हजार ४४२ जनाको परीक्षण गर्दा ७५९ जनामा संक्रमण पुष्टि भएको थियो । त्यस्तै, बागचौर नगरपालिकाका निजी स्वास्थ्य संस्थामा ३९९ जनाको परीक्षण गर्दा १०८ जनामा संक्रमण देखिएको थियो ।
संक्रमणका कारण जिल्लामा हालसम्म १० जनाले ज्यान गुमाइसकेका छन् । मृत्यु हुनेमा आठ पुरुष र दुई महिला छन् । जसमध्ये दार्मा गाउँपालिकाका नौ जना (आठ पुरुष र एक महिला) तथा छत्रेश्वरी गाउँपालिकाका एक महिला रहेका छन् ।
पछिल्लो समय संक्रमणको दर घट्दै गएको भए पनि नयाँ संक्रमित भेटिनुले जोखिम पूर्ण रूपमा नहटेको स्वास्थ्यकर्मीहरूको भनाइ छ । स्वास्थ्य सेवा कार्यालयले ज्वरो आउने, टाउको दुख्ने, शरीर दुख्ने तथा शरीरमा काला दाग देखिनेजस्ता लक्षण देखिएमा ढिलाइ नगरी नजिकैको स्वास्थ्य संस्थामा परीक्षण तथा उपचार गराउन आग्रह गरेको छ ।
संक्रमणबाट बच्न झाडी तथा घाँस भएको स्थानमा जाँदा सावधानी अपनाउने, शरीर ढाक्ने कपडा लगाउने र घरवरपरको वातावरण सफा राख्ने कुरामा पनि ध्यान दिन स्वास्थ्यकर्मीहरूले सुझाव दिएका छन् ।
