सल्यान, ११ मंशिर । विपद्का बेला तत्काल खोज तथा उद्धारमा […]
सल्यान, ११ मंशिर ।
ग्रामीण बस्तीमा सामान्य उपचारका लागि घण्टौँ हिँडेर स्वास्थ्य संस्था पुग्नुपर्ने बाध्यता कम हुँदै गएको छ । सल्यानको कुमाख गाउँपालिका, १ टाट्के डाँडागाउँमा ६१ लाख रुपैयाँ भन्दा बढी लगानीमा पक्की सामुदायिक स्वास्थ्य इकाई भवन निर्माण गरी सेवा सञ्चालनमा ल्याइएको हो । नयाँ भवनबाट स्थानीयले गाउँमै आधारभूत स्वास्थ्य सेवा पाउन थालेपछि उपचारका लागि टाढा धाउनुपर्ने बाध्यता घट्ने अपेक्षा गरिएको छ ।
भौगोलिक विकटता र स्वास्थ्य संस्थासम्मको दूरीका कारण आधारभूत स्वास्थ्य सेवाको पहुँचमा समेत कठिनाइ भोग्दै आएका ग्रामीण बस्तीका नागरिकलाई लक्षित गरी निर्माण गरिएको स्वास्थ्य इकाई भवनको प्रतिनिधिसभा सदस्य रमेशकुमार मल्लले शुक्रबार उद्घाटन गरेका हुन् ।
स्थानीय स्तरमै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले निर्माण गरिएको भवनले वडाका नागरिकलाई सामान्य स्वास्थ्य समस्या देखिँदा टाढाका स्वास्थ्य संस्था सम्म पुग्नुपर्ने अवस्थालाई सहज बनाउने अपेक्षा गरिएको छ । विशेषगरी बिरामी, ज्येष्ठ नागरिक, महिला तथा बालबालिकालाई स्थानीयस्तरमै स्वास्थ्य सेवा लिन सहज हुनेछ ।
नवनिर्मित भवनको जम्मा लागत ६१ लाख ७३ हजार ७ सय ९८ रुपैयाँ रहेको छ । २०८२ फागुन १० गते निर्माण सम्झौता भएर २०८३ असोज ३१ गते निर्माण कार्य सम्पन्न गरिएको गाउँपालिकाले जनाएको छ ।
भवन उद्घाटन कार्यक्रममा कुमाख गाउँपालिका अध्यक्ष मानबहादुर बुढाथोकी, उपाध्यक्ष लालबहादुर रावत लगायतका जनप्रतिनिधि, कर्मचारी तथा सफल निर्माण सेवाका सञ्चालक अन्जन राई र स्थानियको उपस्थिति रहेको थियो ।
ग्रामीण बस्तीमा लाखौँ रुपैयाँ लगानी गरेर निर्माण गरिएका यस्ता स्वास्थ्य पूर्वाधारको वास्तविक उपलब्धिका लागि त्यसको नियमित सञ्चालन, दक्ष स्वास्थ्यकर्मीको उपलब्धता, आवश्यक औषधि तथा उपकरणको व्यवस्था र गुणस्तरीय सेवा प्रवाहलाई ध्यान दिनुपर्ने वक्ताहरुको भनाइ थियो ।
