सल्यान, ११ मंशिर । ग्रामीण बस्तीमा सामान्य उपचारका लागि घण्टौँ […]
सल्यान, ११ मंशिर ।
विपद्का बेला तत्काल खोज तथा उद्धारमा खटिनुपर्ने स्थानीय विपद् व्यवस्थापन समितिहरूलाई आवश्यक पर्ने उपकरण र सामग्री उपलब्ध गराइएको छ । सल्यानका आठ स्थानीय तहका विपद् व्यवस्थापन समितिलाई ६ लाख ९ हजार रुपैयाँभन्दा बढी मूल्यका खोज तथा उद्धार सामग्री हस्तान्तरण गरिएको हो ।
विपद् जोखिमका बेला आवश्यक उपकरणको अभावमा उद्धार तथा प्रतिकार्यमा कठिनाइ नहोस् भन्ने उद्देश्यले सामग्री उपलब्ध गराइएको हो । हस्तान्तरण गरिएका सामग्रीले आगलागी, बाढी, पहिरो तथा अन्य विपद्का घटनामा तत्काल उद्धार र प्रारम्भिक व्यवस्थापनका काम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
आईपास नेपालको सहयोगमा दलित विकास समाज सल्यानको समन्वय तथा सहजीकरण र स्थानीय तहहरूको सहकार्यमा सञ्चालित नेपालमा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सुधारका लागि उत्थानशील स्वास्थ्य प्रणाली परियोजना अन्तर्गत सामग्री हस्तान्तरण गरिएको हो ।
परियोजना मार्फत शारदा नगरपालिका, कालीमाटी, त्रिवेणी, कपुरकोट, छत्रेश्वरी, सिद्धकुमाख, कुमाख र दार्मा गाउँपालिकाका स्थानीय विपद् व्यवस्थापन समितिलाई सामग्री उपलब्ध गराइएको दलित विकास समाज सल्यानका कार्यक्रम संयोजक तोरण बुढाथोकीले जानकारी दिए ।
हस्तान्तरण गरिएका सामग्रीमा त्रिपाल, गैँती, बेल्चा, रेनकोट, हेल्मेट, सर्च लाइट, कम्बल, स्ट्रेचर, डोरी, टोचन, सर्प समात्ने उपकरण, आगो निभाउने उपकरण, लाइफ ज्याकेट, प्राथमिक उपचार बाकस, मेगाफोन, गमबुट, पन्जा, बन्चरो, फरुवा लगायतका सामग्री रहेका छन् ।
त्यसैगरी अग्नि नियन्त्रण पम्प, अग्नि नियन्त्रण कम्बल, आगलागीको सूचना दिने उपकरण, टाउकोमा लगाउने टर्च, पावर ब्याकअप, रक्तचाप नाप्ने उपकरण, ब्यान्डेज, मास्क, सिठी लगायतका खोज तथा उद्धारमा प्रयोग हुने सामग्री पनि उपलब्ध गराइएको छ ।
दलित विकास समाज सल्यानका अनुसार हस्तान्तरण गरिएका सम्पूर्ण सामग्रीको मूल्य ६ लाख ९ हजार १ सय ५० रुपैयाँ रहेको छ ।
स्थानीय तहमा विपद् व्यवस्थापनको जिम्मेवारी भए पनि आवश्यक उपकरण तथा उद्धार सामग्रीको उपलब्धता प्रभावकारी प्रतिकार्यका लागि महत्वपूर्ण मानिन्छ । विशेषगरी विपद् प्रभावित क्षेत्रमा बाह्य उद्धार टोली पुग्न समय लाग्ने अवस्थामा स्थानीय स्तरमै उपलब्ध जनशक्ति र साधन स्रोत परिचालन गर्न सकिने भएकाले यस्ता सामग्रीको उपलब्धताले तत्काल उद्धारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
