वडामा नागरिकले प्रत्येक्ष सेवा लिने प्रशासनिक भवन उद्घाटन

सल्यान, १६ कार्तिक ।

सल्यानको शारदा नगरपालिका, १० मा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन गरिएको छ । नगर प्रमुख प्रकाश भण्डारीले भवनको शिलालेख अनावरण गर्दै सोमबार नवनिर्मित भवनको औपचारिक उद्घाटन गर्नुभएको हो ।

वडा अध्यक्ष कृष्णबहादुर बोहराको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा नगर प्रमुख भण्डारी प्रमुख अतिथि तथा नगर उपप्रमुख सुस्मिता सापकोटा विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो ।

भवन उद्घाटनपछि आयोजित कार्यक्रममा बोल्दै नगर प्रमुख भण्डारीले वडा कार्यालय नागरिकले प्रत्यक्ष रूपमा सेवा प्राप्त गर्ने स्थानीय सरकारको महत्वपूर्ण प्रशासनिक केन्द्र भएको बताउनुभयो । उहाँले भौतिक पूर्वाधार निर्माणसँगै नागरिकलाई प्रदान गरिने सेवा पनि सहज, छिटो र प्रभावकारी हुनुपर्नेमा जोड दिनुभयो । नवनिर्मित भवनबाट वडावासीलाई सेवा लिन सहज हुने विश्वास व्यक्त गर्दै उहाँले जनताको आवश्यकता र अपेक्षा अनुसार जिम्मेवार भएर काम गर्न जनप्रतिनिधि तथा कर्मचारीलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा नगर उपप्रमुख सुस्मिता सापकोटाले स्थानीय तहको सेवा प्रवाहलाई नागरिकमैत्री बनाउन व्यवस्थित कार्यालय पूर्वाधार आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले नयाँ भवनले वडाको प्रशासनिक कामकाजलाई व्यवस्थित बनाउनुका साथै सेवाग्राहीलाई सहज वातावरण प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

वडा अध्यक्ष कृष्णबहादुर बोहराले नवनिर्मित भवन वडावासीको साझा सम्पत्ति भएको उल्लेख गर्दै यसबाट वडाको प्रशासनिक सेवा सञ्चालनमा थप सहजता आउने बताउनुभयो । उहाँले भवन निर्माणसँगै नागरिकलाई गुणस्तरीय सेवा प्रदान गर्ने जिम्मेवारी पनि बढेको धारणा राख्नुभयो ।

उद्घाटन समारोहका अवसरमा वडा नं. १० को विकास, प्रशासनिक व्यवस्थापन तथा सेवा प्रवाहमा योगदान पुर्‍याएका निवर्तमान वडा अध्यक्ष रेशमबहादुर बुढाथोकी, पूर्व वडा सचिवहरू तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा निवर्तमान वडा अध्यक्ष बुढाथोकी, वडा सदस्यहरू गीता विक, सीता कवर, प्रेमबहादुर कवर र गानेन्द्रबहादुर कवर, वडा सचिव प्रेम माझी, आधारभूत स्वास्थ्य सेवा केन्द्रका प्रमुख राजेश बुढाथोकी, वडाका कर्मचारी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, शिक्षक, सञ्चारकर्मी तथा स्थानीयवासीको उपस्थिति रहेको थियो।

कार्यक्रमको सहजीकरण सञ्चारकर्मी योगराज विश्वकर्माले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस