सल्यानमा दाउरा काट्न गएकी १७ वर्षीया बालिकामाथि बँदेलको आक्रमण

सल्यान, १२ कात्तिक ।

सल्यानको दार्मा गाउँपालिकामा जङ्गलमा दाउरा काट्न गएकी एक बालिका जङ्गली बँदेलको आक्रमणमा परेर घाइते भएकी छन् । बिहीबार बिहान घरनजिकैको जङ्गलमा दाउरा काटिरहेको अवस्थामा दार्मा गाउँपालिका–२ ओझाबाङकी १७ वर्षीया बिन्दु रोकायमाथि बँदेलले आक्रमण गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक ईश्वर रोकायका अनुसार बँदेलको आक्रमणबाट रोकायको छाती र दाहिने खुट्टाको साप्रामा चोट लागेको छ । घाइते उनको रुकुम पश्चिमस्थित मिसन अस्पताल चौरजहारीमा उपचार भइरहेको छ । उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

घटनाबारे अस्पतालमा खटिएको प्रहरी कर्मचारीले दिउँसो साढे १२ बजे जानकारी गराएपछि इलाका प्रहरी कार्यालय दार्माबाट प्रहरी सहायक निरीक्षक कर्णबहादुर चन्दको कमान्डमा दुई जनाको प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो ।

प्रतिक्रिया दिनुहोस