छत्रेश्वरीमा वडामै योजना सम्झौता र बैंक खाता सञ्चालनको काम

सल्यान, १६ कार्तिक ।

सल्यानको छत्रेश्वरी गाउँपालिकामा वडा स्तरमै योजना सम्झौता तथा बैंक खाता सञ्चालनको व्यवस्था गरिएको छ । योजना सम्झौता तथा बैंक खाता सञ्चालन लगायतका कामका लागि गाउँपालिकाको केन्द्र र बैंकसम्म धाउनुपर्ने बाध्यता हटाउने उद्देश्यले आर्थिक वर्ष २०८३/०८४ मा सञ्चालन हुने विकास योजनाहरूको सम्झौता प्रक्रिया सहज बनाउन वडास्तरमै पुगेर योजना सम्झौता घुम्ती शिविर सञ्चालन गरिएको हो ।

हालसम्म वडा नम्बर २, ४ र ५ मा योजना सम्झौता घुम्ती शिविर सम्पन्न भइसकेको छ । यसपछि बाँकी वडा नं ६, ७, १ र ३ मा पनि क्रमशः शिविर सञ्चालन गरी सबै वडामा रहेका योजनाहरूको सम्झौता प्रक्रिया वडास्तरबाटै सम्पन्न गरिने प्रमुख प्रशासकीय अधिकृत दिपक बुढाथोकीले जानकारी दिए ।

चालू आर्थिक वर्षमा गाउँपालिकाभित्र उपभोक्ता समितिमार्फत करिब १४० वटा योजना सञ्चालन हुनेछन् । ती योजनाहरूको सम्झौता प्रक्रियालाई छिटोछरितो र सेवाग्राहीमैत्री बनाउन गाउँपालिकाले कर्मचारी तथा प्राविधिक टोलीसहित वडास्तरमा घुम्ती शिविर सञ्चालन गरेको हो ।

योजना सम्झौताका लागि प्रमुख प्रशासकीय अधिकृत सहित आर्थिक प्रशासन शाखा, योजना शाखा र प्राविधिक शाखाका प्रमुख तथा प्रतिनिधिहरू वडा तहमा खटिएका छन् । शिविरमार्फत योजना सम्बन्धी सम्झौता, आवश्यक कागजातको तयारी तथा प्राविधिक र प्रशासनिक प्रक्रियामा सहजीकरण भइरहेको गाउँपालिकाले जनाएको छ ।

त्यसैगरी उपभोक्ता समितिको बैंक खाता सञ्चालनका लागि समेत गाउँपालिकाको केन्द्र तथा बैंकसम्म पुग्नुपर्ने अवस्था अन्त्य गर्न वडाबाटै आवश्यक सहजीकरण गरिने व्यवस्था मिलाइएको छ । यसले विशेषगरी ग्रामीण क्षेत्रका उपभोक्ता समितिका पदाधिकारीलाई समय र खर्च बचत हुनुका साथै योजना कार्यान्वयन प्रक्रिया सहज हुने अपेक्षा गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले योजना सम्झौता र अन्य आवश्यक प्रक्रियाका लागि सेवाग्राहीलाई अनावश्यक झन्झट नहोस् भन्ने उद्देश्यले घुम्ती शिविर सञ्चालन गरिएको जानकारी दिए । विकास योजनाको कार्यान्वयनलाई समयमै अघि बढाउन र नागरिकलाई सहज रूपमा सेवा उपलब्ध गराउन गाउँपालिकाले वडास्तरमै सेवा पुर्‍याउने नीति लिएको उनले बताए ।

यस अघि कार्यपालिका बैठकबाट नै उपभोक्ता समिती समयमै गठनका लागि निर्णय गरिएको थियो । विकास निर्माणका कामलाई पारदर्शी, व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्य अनुरुप काम भैरहेको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस