सल्यानमा अटो दुर्घटना हुँदा एक युवाको मृत्यु, चालक घाइते

सल्यान, १२ कात्तिक ।

सल्यानमा अटो दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ भने चालक घाइते भएका छन् । जिल्लाको बागचौर नगरपालिका–१०, माथिल्लो मोखलामा अटो अनियन्त्रित भएर सडकबाट करिब ५५ मिटर तल खस्दा छत्रेश्वरी गाउँपालिका–५, सिरुवाली निवासी ३५ वर्षीय रेशम राउतको घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार दुर्घटनामा अटो चालक बागचौर नगरपालिका–१० निवासी ३४ वर्षीय निर्मल कँवर मगर घाइते भएका छन् । उनको टाउको, बायाँ खुट्टा र ढाडमा चोट लागेको छ । घाइते चालकलाई उपचारका लागि दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही लगिएको छ । उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

बुधबार राति करिब १ः३० बजे मोखला बजारबाट माथिल्लो मोखलातर्फ जाँदै गरेको रा.१ ह ६१२६ नम्बरको अटो अनियन्त्रित भई सडकबाट तल खसेको थियो ।

दुर्घटनाबारे बिहान ७ः०५ बजे इलाका प्रहरी कार्यालय थारमारेमा खबर प्राप्त भएपछि प्रहरी निरीक्षक यामबहादुर मल्लको कमान्डमा ट्राफिक प्रहरीसहित आठ जनाको टोली घटनास्थलमा खटिएको थियो ।

दुर्घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस