सल्यान, १४ कार्तिक । सल्यानमा एक पुरुषको शव खोलामा फेला […]
सल्यान, १३ कार्तिक ।
सल्यानको कपुरकोट गाउँपालिका वडा नं २ मा खेलकुद तथा सांस्कृतिक गतिविधिलाई प्रोत्साहन गर्ने उद्देश्यले दुईदिने ‘वडा कप’ सञ्चालन हुने भएको छ । वडा कार्यालयले आर्थिक वर्ष २०८३/०८४ को वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत आगामी कार्तिक १९ र २० गते वडा कप आयोजना गर्न लागेको हो ।
वडा अध्यक्ष इश्वर बुढाका अनुसार प्रतियोगितामा भलिबल, चेलीबेटी एकल नृत्य, आमा समूह सामूहिक नृत्य, कुर्सी दौड र घैटोफोरलगायतका कार्यक्रम समावेश गरिएका छन् । खेलकुदसँगै स्थानीय कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनलाई समेत प्राथमिकता दिइएको छ ।
वडा कप अन्तर्गत सञ्चालन हुने भलिबल प्रतियोगितामा प्रथम हुने टोलीले १५ हजार, द्वितीयले १२ हजार र तृतीयले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
त्यस्तै चेलीबेटी एकल नृत्य प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः तीन हजार, दुई हजार र एक हजार रुपैयाँ प्राप्त गर्नेछन् । आमा समूहबीच हुने सामूहिक नृत्य प्रतियोगिताका विजेतालाई क्रमशः चार हजार, तीन हजार र दुई हजार रुपैयाँ पुरस्कार प्रदान गरिने वडा कार्यालयले जनाएको छ ।
कुर्सी दौड प्रतियोगितामा प्रथम हुनेलाई दुई हजार, द्वितीयलाई एक हजार पाँच सय र तृतीयलाई एक हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । घैटोफोर प्रतियोगिताका लागि दुई हजार रुपैयाँ पुरस्कार तोकिएको छ ।
कार्यक्रममा आमा समूहलाई समेत प्रोत्साहन तथा सम्मान गरिनेछ । वडा क्षेत्रका प्रत्येक आमा समूहलाई १० हजार रुपैयाँका दरले सम्मान गर्ने कार्यक्रम रहेको छ । त्यसैगरी सोरठी र पैसरी नाचका समूहलाई पनि १० हजार रुपैयाँका दरले प्रोत्साहन रकम प्रदान गरिनेछ । ज्येष्ठ नागरिक सम्मान कार्यक्रम समेत सञ्चालन गरिने वडा कार्यालयले जनाएको छ ।
वडा कप कार्तिक १९ र २० गते बिहान १० बजेदेखि कपुरकोट गाउँपालिका, २ स्थित वीरेन्द्र माध्यमिक विद्यालय, तल्लो गर्पामा सञ्चालन हुनेछ ।
