सल्यान, १० कार्तिक । सल्यानमा स्क्रब टाइफसबाट संक्रमित हुनेको संख्या […]
सल्यान, ११ कार्तिक ।
सल्यानको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल कुमाख लेकमा जिल्लाकै ठूलो मेला सम्पन्न भएपछि सरसफाइ अभियान सञ्चालन गरिएको छ । मेला अवधिमा जम्मा भएको फोहोर व्यवस्थापन गर्दै धार्मिक तथा पर्यटकीय क्षेत्रको स्वच्छता र वातावरण संरक्षणमा योगदान पुर्याएका तीन युवालाई ‘कुमाख इको हिरो अवार्ड–२०८३’ प्रदान गरी सम्मान गरिएको हो ।
करिब ४० जनाको सहभागितामा सञ्चालन गरिएको सरसफाइ अभियानमा जीवन शर्मा, महेश बुढाथोकी र अर्जुन बुढाथोकी सम्मानित भएका हुन् । कुमाख मेला व्यवस्थापन समितिका अध्यक्ष खिम डिसी लगायतले तीनै जनालाई सम्मान गरेका थिए ।
मेला सम्पन्न भएपछि उक्त क्षेत्रको सरसफाइ गर्दै वातावरण संरक्षणमा योगदान पुर्याउने युवालाई प्रोत्साहन गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको कुमाख मेला व्यवस्थापन समितिले जनाएको छ । गत वर्षदेखि सुरु गरिएको यस अभियानले मेला स्थलको स्वच्छता कायम राख्नुका साथै स्थानीय स्तरमा वातावरण संरक्षण सम्बन्धी सचेतना अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ ।
सम्मानित युवा जीवन शर्माले कुमाख इको हिरो अवार्डले आगामी दिनमा पनि वातावरण संरक्षणका क्षेत्रमा सक्रिय रहन थप प्रेरणा, हौसला र जिम्मेवारीबोध गराएको बताए । “वातावरण संरक्षण कुनै एक व्यक्ति वा संस्थाको प्रयासले मात्र सम्भव हुँदैन । यसका लागि स्थानीय समुदाय, युवा पुस्ता, मेला व्यवस्थापन समिति तथा सरोकारवाला सबैको साझा प्रयास र प्रतिबद्धता आवश्यक हुन्छ,” उनले भने ।
मेला भर्न आउने श्रद्धालु तथा पर्यटकले पनि फोहोरको उचित व्यवस्थापन गर्ने, फूल तथा वनस्पति जोगाउने र सार्वजनिक स्थलको स्वच्छता कायम राख्ने जिम्मेवारी निर्वाह गर्नुपर्ने सरसफाइमा सहभागी युवाहरुको भनाइ छ ।
समुद्री सतहबाट करिब २५३७ मिटर उचाइमा रहेको कुमाख लेक सल्यानको महत्वपूर्ण धार्मिक, सांस्कृतिक तथा प्राकृतिक पर्यटकीय स्थल हो । यहाँ दशैंको कोजाग्रत पूर्णिमाका अवसरमा लाग्ने मेलामा सल्यान सहित आसपासका जिल्लाबाट ठूलो संख्यामा श्रद्धालु तथा पर्यटक पुग्ने गर्छन् ।
धार्मिक पूजाआजा, स्थानीय संस्कृति, परम्परागत गतिविधि र प्राकृतिक सौन्दर्यका कारण कुमाख लेकको धार्मिक तथा पर्यटकीय महत्व बढ्दै गएको छ । तर मेलामा सहभागी हुनेको चापसँगै फोहोर व्यवस्थापन, प्राकृतिक सम्पदाको संरक्षण र आधारभूत पर्यटकीय पूर्वाधार विकासलाई प्राथमिकता दिनुपर्ने आवश्यकता देखिएको छ ।
