मन्त्री फेर्ने माधव नेपालको निर्णय अस्वीकृत, देउवा भन्छन्-मन्त्री हेरफेर हुँदैनन्

२३ जेष्ठ २०७९

काठमाडौैं। आइतबार एकीकृत समाजवादीको सचिवलाय बैठकले सरकारमा सहाभागी मन्त्रीलाई फिर्ता बोलाएर नयाँ अनुहारलाई सरकारमा सहाभागी गराउने निर्णय गरेको थियो।

पूर्व निर्णय अनुसार भन्दै समाजवादीले सरकारमा सहाभागी चार जना मन्त्री फिर्ता बोलाउने र उनीहरुको ठाउँमा नयाँ मन्त्री पठाउने निर्णय गरेको थियो। आइतबार साँझै एकीकृत समाजवादकिा अध्यक्ष माधव नेपालले नयाँ मन्त्रीको सूची प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको बताएका थिए।

उता एकीकृत समाजवादीबाट सरकारमा सहभागी मन्त्रीहरुले आफूहरुलाई फिर्ता बोलाउने पार्टी निर्णयका विषयमा केही जानकारी नभएको बताउँदै आएका थिए। एकीकृत समाजवादले भने प्रधानमन्त्रीलाई भेटेर सोमबार नयाँ मन्त्रीको सपथ गराउन आग्रह गरेको बताएको थियो।

तर प्रधानमन्त्री देउवाले भने बजेट अधिवेशन चलिरहेको अवस्थामा मन्त्री हेरफेर नगर्ने अडान लिएपछि नयाँ मन्त्रीको सपथ रोकिएको छ। बालुवाटार निकट स्रोतका अनुसार प्रधानमन्त्री देउवाले अहिलेकै मन्त्रीलाई नियमित काम गर्न निर्देशन नै दिएका छन्। प्रधानमन्त्री देउवा तत्काल मन्त्री फेर्न तयार नभएपछि नयाँ मन्त्रीको सपथ पनि रोकिएको छ।

एकीकृत समाजवादीबाट पार्टीको नेतृत्व गर्दै सरकारमा सहभागी भएका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले मन्त्री हेरफेर गर्ने निर्णयबारे आफूहरुलाई जानकारी नभएको बताए। ‘मन्त्री फेर्ने बजार हल्ला मात्रै हो,’ मन्त्री खतिवडाले डिसी नेपालसँग भने, ‘तपाईंहरु पनि बजार हल्लाका पछि नलाग्नुस्। म अहिले मन्त्रालयको काममा व्यस्त छु।’

मन्त्री हेरफेरको विषयमा भने सरकारमा सहभागी मन्त्रीहरूले असन्तुष्टि व्यक्त गर्दै आएका थिए। मन्त्री हेरफेरको चर्चा चलेपछि स्वास्थ्यमन्त्री खतिवडा र पर्यटनमन्त्री प्रेम आलेले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई भेटेका थिए। भेटका क्रममा उनीहरूले आफूलाई फिर्ता बोलाउने विषयमा असन्तुष्टि व्यक्त गरेका थिए।

अध्यक्ष नेपालले भने मन्त्री नियुक्त हुने बेला नै ६ महिनाको लागि मात्र हो भनेर गराइएको बताएका थिए। नयाँ मन्त्रीहरूको सोमबार सपथ ग्रहणको कार्यक्रम पनि तय भइसकेको थियो। तर, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सपथ ग्रहणको कुनै जानकारी दिइएको छैन।

समाजवादीले नयाँ मन्त्रीको रूपमा जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरी सहरी विकास, शेरबहादुर कुँवरलाई श्रम तथा रोजगारमन्त्रीमा पठाउने निर्णय गरेको थियो।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री रहेका भवानी खापुङलाई स्वास्थ्यमन्त्रीमा बढुवा गरेर प्रधानमन्त्रीलाई नाम सिफारिस गरेको थियो । स्वास्थ्य राज्यमन्त्रीमा हिराचन्द्र केसीलाई पठाउने निर्णय गरेको थियो।

प्रधानमन्त्री देउवाको प्रमुख स्वकीय सचिव भानु देउवाले मन्त्री हेरफेरका विषयमा कुनै जानकारी नआएको बताए। ‘अहिले बजेट अधिवेशन चलिरहेको छ, यस्तोमा मन्त्री हेरफेर गर्ने कुरा छैन,’ देउवाले डिसी नेपालसँग भने, ‘सपथ गराउने भनेर आएका चर्चामा कुनै सत्यता छैन। बजेट अधिवेशनमा मन्त्री हेरफेर हुँदैनन्।’

प्रतिक्रिया दिनुहोस