चितवन पुगेर प्रचण्डलाई व्यङ्ग्य गर्दै बादलले भने- म तपाईंहरूलाई धम्क्याउन आएको होइन

२६ वैशाख, २०७९

नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले नेता तथा कार्यकर्तालाई धम्क्याउन आफू भरतपुर नआएको बताएका छन् ।

भरतपुरमा आयोजित सभालाई आइतबार सम्बोधन गर्दै उनले स्थानीय तहको महत्त्वबारे धारणा राख्न भरतपुर आएको बताए ।

‘म तपाईंहरूलाई धम्क्याउनका निम्ति यहाँ उपस्थित भएको छैन । म फकाउन र लोभ्याउनका लागि पनि उपस्थित भएको होइन,’ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई व्यङ्ग्य गर्दै थापाले भने, ‘म सहयात्रीलाई घुर्क्याउन पनि उपस्थित भएको छैन । स्थानीय चुनावको के महत्त्व छ भन्नेबारे धारणा राख्न चाहन्छु ।’

यसअघि चितवनकै सभालाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कांग्रेसले गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाललाई भोट नहाले देश दुर्घटनामा जाने बताएका थिए ।

अहिले देश ऐतिहासिक मोडमा आएको उनले जनाए । यो मोड नयाँ चुनौती र अवसर लिएर आएको उनले बताए ।

‘आज हामीले स्थानीय तहको निर्वाचनबाट यी चुनौतीलाई कसरी सामना गर्ने भन्ने प्रश्न उठेको छ । नेपाली जनताले यी प्रश्नको जवाफ दिनुपर्ने भएको छ । नेपालका नेता कार्यकर्ताहरूले यी प्रश्नहरूको उचित जवाफ दिनुपर्ने भएको छ,’ उनले भने ।

अहिले देशमा दुई धारबीच संघर्ष चलेको उनले जनाए । एउटा धार ठूला पुँजीपतिहरूको जसको प्रतिनिधित्व पाँचदलीय गठबन्धनले गरेको उनले जनाए । अर्को धार देशभक्तहरूको रहेको, जसको नेतृत्व एमालेले गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस