चुनावमा भाग लिने विप्लवको प्रस्ताव अल्पमतमा

१०फाल्गुन २०७८

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको जारी बैठकमा शुक्रबार महासचिव नेत्रविक्रम चन्द्र (विप्लव) ले राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिन कार्यसूची तय भएको छ ।

नेकपाको केन्द्रीय समिति बैठक चैत ४ देखि कपिलवस्तुको शिवगढीस्थित केन्द्रीय सम्पर्क कार्यालयमा जारी छ । बैठकमा महासचिव विप्लवले स्थानीय तहको चुनाव उपयोग नीति, एमसिसी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक अवस्था, पार्टीको भावी रणनीतिसहितको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

चुनावमा भाग लिने विप्लवको प्रस्तावलाई बहुमत केन्द्रीय सदस्यहरूले अस्वीकार गरेका छन् । नेकपामा ६५ सदस्यीय केन्द्रीय कमिटी र चार सदस्यीय सल्लाहकार समिति छ । यीमध्ये ४० केन्द्रीय सदस्य र चार सल्लाहकार विप्लवले गरेको प्रस्तावको विपक्षमा उभिएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

‘चुनावमा भाग लिने नीति वस्तुगत रूपमा पार्टीका लागि आत्मघाती हुन्छ,’ ती केन्द्रीय सदस्यले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘संसदीय भासमा हामी जानुहुँदैन । जनसंघर्ष र विद्रोहको बाटोबाट दलाल पुँजीवादको अन्त्य गर्नुपर्छ । पार्टीको नीति शान्तिपूर्ण विद्रोह हुनुपर्छ भन्ने अधिकांशको मत छ ।’

तर केन्द्रीय सदस्य अनील शर्मा विरही विप्लवको प्रस्ताव अल्पमतमा नपरेको दाबी गर्छन् । ‘सबै सदस्यले महासचिवले पेश गरेको राजनीतिक प्रस्तावमाथि आफ्ना धारणा राख्ने काम सकिएको छ । पाँच जना पूर्वपोलिटब्युरो सदस्यमध्ये चार जना प्रस्तावको पक्षमा उभिएका छन्,’ विरहीले भने, ‘महासचिवको प्रस्ताव अल्पमतमा पर्‍यो भन्ने बाहिरको हल्ला हो । वास्तवमा धेरै जनाले स्थानीय चुनावमा भाग लिनुपर्ने धारणा राखेका छन् ।’

उनले चुनावमा भाग लिने नीति बनाए पनि संसदीय अभ्यास नगर्ने दाबी गरे । ‘प्रचण्डले अंगीकार गरेको नीति संसदीय भास जाने नीति हो । हामीले दलाल पुँजीवादी संसदीय अभ्यासमा भाग लिनुपर्छ भनेका होइनौं ।’

पाँच सदस्यीय सचिवालय रहेको नेकपामा महासचिव विप्लव र खड्कबहादुर विश्वकर्मा चुनावमा भाग लिनुपर्ने पक्षमा उभिएका छन् । धर्मेन्द्र बास्तोला, हेमन्तप्रकाश ओली विपक्षमा उभिएका छन् भने सन्तोष बुढामगर तटस्थ छन् ।

शान्तिपूर्ण संसदीय राजनीतिलाई उपयोग गरी सत्ता हातमा लिने प्रचण्डको नीतिप्रति ०६९ असारमा विद्रोह गरेर अलग यात्रा तय गरेका विप्लवले १० वर्षपछि पुनः संसदीय अभ्यासमा फर्किने जमर्को गरेका छन् । एमाओवादीबाट अलग भएको केही समयपछि वैद्यबाट क्रान्ति हुननसक्ने दाबी गर्दै विप्लवले आफ्नै नेतृत्वमा नेकपा गठन गरेका थिए ।

संसदीय चुनावलाई बहिष्कार गरी ०७४ मा भूमिगत भएका विप्लव गत वर्ष फागुनमा सरकारसँग तीन बुँदे सहमति गरी शान्तिपूर्ण खुला राजनीतिमा फर्किएका थिए । विप्लवले चुनावलाई उपयोग गर्ने नीति राजनीतिक प्रस्ताव गरे पनि पास हुने स्थिति देखिँदैन ।


नेत्रविक्रम चन्द -विप्लव

नेत्रविक्रम चन्द -विप्लव

प्रतिक्रिया दिनुहोस