गठबन्धन गरौँला, त्यहीँबाट चुनाव जितौँला भनेर बस्न हुँदैन: प्रचण्ड

६ चैत्र २०७८

काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनको भरमा चुनाव जितिएला भनेर बस्न नहुने बताएका छन्। पोखरामा पत्रकारसँगको कुराकानीमा उनले आफ्नो खुट्टामा उभिनु पर्ने भन्दै जनतासँगको सम्बन्धलाई बलियो पार्नुपर्ने बताए।

‘आउँदै गरेको स्थानीय तहको निर्वाचनमा ध्यान केन्द्रीत गरेर नै हामीले कार्यक्रम बनाएका छौं। निर्वाचनमा कसरी जाने भन्ने सबैको चासो छ,’ उनले भने, ‘निर्वाचन गठबन्धन बाट हुन्छ कि एक्लै हुन्छ? भन्ने जहाँ सम्मको कुरा छ, हामीले अहिले पार्टीमा जोड गरेर भनेको चाहीँ हामी गठबन्धन गरौँला, त्यहीँबाट चुनाव जितौँला भनेर बस्न हुँदैन। आफ्नै खुट्टामा उभिने हो। आफ्नै संगठनको शक्तिलाई बलियो पार्ने हो। आफ्नै जनतासँगको सम्बन्धलाई बलियो पार्ने हो।’

उनले निर्वाचन तोकिएकै मितिमा हुने भन्दै यसमा द्विविधा नराख्न अपिल गरे। उनले भने: अझै पनि निर्वाचन के हुन्छ भन्ने चर्चा उठ्ने गर्छ। निर्वाचन तोकिएकै मितिमा हुने प्रस्ट गर्न चाहन्छु। वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुन्छ। त्यहाँ द्विविधामा पर्नुपर्ने कुनै आवश्यकता छैन। निर्वाचन प्रकृयामा सामेल हुन र त्यसको तयारीमा लाग्न सबैलाई अपील पनि गर्न चाहन्छु।

स्थानीय सरकार माओवादीको जोडबलले भएको भन्दै राजनीतिक रुपले मात्र नभएर विकासका लागि पनि यसले महत्वपूर्ण भूमिका खेलेको दावी गरे। र, चुनावका लागि अरुको भर नपरी आँफैले बलियो भएर जानुपर्ने धारणा राखे।

‘चुनावमा तालमेल गरौँला अनि जितौंला भन्ने हिसाबले होइन्, आँफै संगठन र जनतासँगको सम्बन्धलाई सुदृढ गरेर जित्ने किसिमले चुनावमा जाने हो,’ उनले भने, ‘हाम्रो लागि यो सामान्य औपचारिक चुनावमात्र होइन।’

उनले एमालेमाथि पनि आक्रोश पोखे। अघिल्लो वर्षयता संघीयताको पक्षधर र विरोधी दुई खेमा स्पस्ट देखिएको बताउँदै सदनमात्र नभएर संविधाननै विघटन गर्न खोजिएको आरोप लगाए।

‘गत सालदेखि लगातार दुईवटा प्रबृति, धार, विचारमा निकै ठूलो संघर्ष नेपाली समाजमा भयो अहिले पनि भइरहेको छ। एउटा धारले यो संघीयता, समावेशीता, समानुपातिक यो सुन्न चाहँदैन। उनीहरुलाई यो मन परेको छैन तर कहाँबाट माओवादीले आँधीहुरी ल्याइदियो, बाध्य भएर मान्या हो भन्ने नेताहरु अहिले पनि छँदैछन्। पोहोर साल सदनमात्र विघटन गरिएको होइन, संविधान पनि विघटन गर्न खोजिएको हो।’ उनले भने।


प्रतिक्रिया दिनुहोस