सल्यान, २० असोज । परामर्श र सचेतना कार्यक्रमहरू स्वास्थ्य सेवा […]
५ फागुन| बिहिवार प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ । उनीहरूबीच आज बिहान बालुवाटारमा छलफल भएको हो ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार देउवा र प्रचण्डबीचको छलफलमा अमेरिकी सहयोग परियोजनाको विषयमा छलफल भएको थियो । छलफलमा दुवै नेताले आ–आफ्नो अडान कायमै राखेकाले सहमति भने हुन नसकेको बताइएको छ ।
सत्ता गठबन्धनको बैठकमा एमसिसीको विषयमा ‘निर्णायक’ छलफल गर्नुअघि देउवा र प्रचण्डले छलफल गरेका हुन् । बुधबार पनि देउवा र प्रचण्डबीच छलफल भएको थियो । यसैबीच, सत्ता गठबन्धनको बैठक २ घण्टा धकेलिएको छ । यसअघि आज अपरान्ह ३ बजेका लागि बोलाएको गठबन्धनको बैठक ५ बजेलाई सारिएको हो ।
प्रधानमन्त्री देउवा तत्काल नै टेबुल गर्ने पक्षमा छन् । तर, माओवादी केन्द्रले भने अहिलेकै अवस्थामा एमसिसी टेबल गर्न नहुने अडान छ । उसले एमसिसी टेबल भए विपक्षमा मतदान नगर्नुका साथै सरकारबाट पनि बाहिरिने चेतावनी दिइसकेको छ । नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चाले पनि एमसिसीको विपक्षमा छन् ।
जनता समाजवादी पार्टी भने एमसिसीबारे विभाजित छ । जसपाभित्र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई एमसिसी पास हुनुपर्ने पक्षमा लगातार जोड दिइरहेका छन् ।
जसपा अध्यक्ष उपेन्द्र यादव भने तत्काल एमसिसीको विपक्षीमा छन् ।