सुडानमा सैन्य ‘कु’ : प्रधानमन्त्री लगायत केही मन्त्री नजरबन्द

कार्तिक ९,२०७८ मङ्गलबार

९ कार्तिक । सुडानका प्रधानमन्त्री अब्दुल्लाह हामदोकलाई सेनाले हिरासतमा लिएको छ । प्रधानमन्त्री अब्दुल्लाहलाई हिरासतमा लिएर उहाँलाई, उहाँकै घरभित्र नजरबन्दमा राखिएको छ । तर, यसबारे आधिकारिक पुष्टि भने भइनसकेको अल जजिराले जनाएको छ ।

प्रधानमन्त्रीसँगै केही मन्त्री र मन्त्रिपरिषद्का एक सदस्यलाई पनि सेनाले हिरासतमा लिएको खबरमा उल्लेख छ । उद्योगमन्त्री इब्राहिम अल शेख, सूचनामन्त्री हमजा बलौलालगायत पक्राउ परेका छन् । यस्तै, प्रधानमन्त्रीका प्रेस सल्लाहकार फैसल मोहम्मद सालेह पनि पक्राउ  परेका अन्तर्राष्ट्रिय विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।

सुडानमा राजनीतिक सङ्कट गहिरिएपछि यसअघि सयौँ नागरिकले प्रदर्शन गर्दै सत्ता हातमा लिन सेनालाई आग्रह गरेका थिए । सुडानमा गएको सेप्टेम्बरमा पूर्व राष्ट्रपति ओमर अल बसिरका समर्थकहरुले सत्तापलटको असफल प्रयास गरेपछि तनाव चर्किएको छ ।
सन् २०१९ मा सुडानमा चार महिनाको प्रदर्शनपछि सेनाले तानाशाही शासक बसिरलाई सत्ताबाट हटाएको थियो।

प्रतिक्रिया दिनुहोस