दाङमा पनि करिब ३० प्रतिशत धान बालीमा पूर्ण रुपमा क्षति

३ कार्तिक २०७८, बुधवार

दाङ – लगातारको वर्षाले धान उत्पादक किसानलाई नराम्रोसँग असर गरेको छ। काटेर खेतमै सुकाएको धान पानीले भिजाएर नष्ट गरेपछि किसानको बिचल्ली भएको हो। लगातार परेको पानीका कारण दाङमा पनि भित्र्याउन ठिक्क पारिएको करिब ३० प्रतिशत धान बाली पूर्ण रुपमा क्षति भएको छ।

कृषि ज्ञान केन्द्र दाङले जिल्लाका दश स्थानीय तहबाट संकलन गरेको तथ्यांकको आधारमा आइतबार बेलुकादेखि परेको पानीले जिल्लाको ३ हजार ४ सय हेक्टर जग्गामा खेती गरिएको धान डुबाएको जानकारी दिएको छ।

बाढीले दंगिशरण गाउँपालिका र राप्ती गाउँपालिकामा गरी करिब डेढ सय हेक्टरमा गरिएको धान खेतमा पसेको थियो। जसले काटेर सुकाएको धान बगाएको केन्द्रका कृषि प्रसार अधिकृत रुद्रमणि पौडेलले जानकारी दिए। राप्ती गाउँपालिकास्थित राप्ती नदीमा आएको बाढीले करिब एक सय ५० विगाह धान खेत कटान गरेको छ। जिल्लामा ३९ हजार हेक्टर जमिनमा धान खेती गरिएको छ।

देउखुरी क्षेत्रमा दश हजार हेक्टर जमिनमा गरिएको धान किसानले पानी पर्नुअघि सुरक्षीत रुपमा भित्र्याइसकेको केन्द्रले बताएको छ। ‘मूल्यको आधारमा कति क्षति भयो, त्यसको विवरण निकाल्दै छौं। प्रारम्भिक विवरणअनुसार करिब ३० प्रतिशत धान पूर्ण रुपमा क्षति भएको छ’, पौडेलले भने, ‘धान भित्र्याउन ठिक्क परेका किसानलाई मौसमले साथ दिएन। अझै पानी पर्ने सम्भावना रहेकाले यो क्षतिको आँकडा बढ्न सक्छ।’

अहिले पनि पानी परिरहेकाले धानमा अझै धेरै क्षति हुने अनुमान गरिएको छ।



प्रतिक्रिया दिनुहोस