सल्यान, २७ फागुन । सल्यानमा चौबन्दी चोली तथा डिजाइन कुर्ता […]
रोल्पामा बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। सहचालकको गम्भीर अवस्थामा उपचार भइरहेको छ।
दुर्घटनामा परी रोल्पा नगरपालिका-१ खेवासे गाउँका २० वर्षीय चालक गोवर्द्धन घर्तीको मृत्यु भएको छ। सहचालक सोही वडाका २३ वर्षीय नवीन पुनको गम्भीर अवस्थामा जिल्ला अस्पताल रेउघामा उपचार भइरहेको रोल्पाका प्रहरी प्रमुख नरेश सुवेदीले बताए।
आइतबार बिहान ९ बजेतिर रोल्पा नगरपालिका-१ सल्लीबोटबाट सोही नगरको वाखोलातर्फ जाने क्रममा लु १ च ९४९३ नम्बरको निजी बोलेरो छेरा पोखरा भन्ने ठाउँमा झन्डै ३० मिटर तल खसेको थियो।
दुर्घटनापछि बोलेरोले चालक र सहचालक दुबैलाई किचेको थियो।
‘खबर पाउनासाथ प्रहरी घटनास्थल पगेर बोलेरोले किचेका दुबैलाई उद्धार गरी अस्पताल पुर्याएको थियो,’ डिएसपी सुवेदीले भने, ‘अस्पताल पुर्याउनासाथ चिकित्सकले चालकलाई मृत घोषणा गरेका थिए।’
सहचालकको अवस्था पनि गम्भीर रहेको हुँदा दाङतर्फ पठाउनेबारे कुरा भइरहेको डिएसपी सुवेदीले जानकारी दिए। दुर्घटनाको कारणबारे अनुसन्धान जारी रहेको पनि प्रहरीले जनाएको छ।