विषाक्त घरेलु मदिरा सेवनबाट एकै गाउँका ८ जनाको मृत्यु

०२,असार २०७८

२,असार ।सर्लाहीमा विषाक्त घरेलु मदिरा सेवनबाट ८ जनाको मृत्यु भएको छ । नेपाल–भारत सीमावर्ती क्षेत्रमा पर्ने पडरिया गाउँमा विगत चार दिनयता तीन भारतीय नागरिकसहित आठ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ब्रह्मपुरी गाउँपालिका–५ पडरियाका ५० वर्षीय राम ईश्वर पासवान, ३९ वर्षीय दिनकर दास, ६५ वर्षीय कैलु दास, ५० वर्षीय जुगेश्वर माझी र २४ वर्षीय बलिन्द्र दास तथा भारत उत्तर प्रदेशका ३५ वर्षीय दाताराम निसाद, ५५ वर्षीय शिवसागर निसाद र ३२ वर्षीय सर्वेस राम निसाद रहेका छन् ।

उनीहरु सबैको विषाक्त घरेलु मदिरा सेवनबाट मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै मदिरा सेवन गरेका थप तीन जना पनि बिरामी परेका थिए । उनीहरु उपचारपछि निको भएको जनाइएको छ । मृत्यु कारणबारे थप पत्ता लगाउन मृतकहरुको भिसेरा परीक्षणका लागि फरेन्सिक ल्याब काठमाण्डौं पठाइने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस