कर्णालीमा एमालेद्वारा प्रदेश सभा अवरूद्ध, मन्त्री थापालाई निकाल्न माग

२४,जेष्ठ-२०७८

२४,जेष्ठ |भौतिक पूर्वाधार मन्त्रीलाई संसद् बैठकबाट बाहिर निकाल्न माग गर्दै नेकपा एमालेका सांसदहरूले कर्णाली प्रदेश सभा बैठक अवरूद्ध गरेका छन्।


आजदेखि सुरु भएको कर्णाली प्रदेश सभाको आठौं अधिवेशनको पहिलो वैठकमा सभामुखले कार्यसूची अघि नबढाउँदै एमाले सांसदहरू उठेर विरोध जनाएका थिए।

एमाले संसदीय दलका नेता यामलाल कँडेलले मन्त्री अम्मर थापालाई प्रदेश सभाबाट बाहिर निकाल्न भनेका हुन्। थापामाथि सरकारी कागजात कीर्ते गरेको मुद्दा छ।

‘राजनीतिक अपराधी सम्मिलित रहेको यो सरकार हो, अदालतले करार पुष्टि भएका व्यक्ति झण्डा हल्लाउँदै यो सभामा प्रवेश गरेका छन्,’ कँडेलले भने, ‘कसलाई कहाँ बस्न पाइन्छ त्यसको निर्धारण गर्नुपर्छ, सजाय भोगिसकेको व्यक्ति कुनै पनि तहको सार्वजनिक पदमा बस्न नपाइने व्यवस्था छ।’

जनप्रतिनिधिको संस्था नैतिक मूल्य र मान्यताको आधारमा चल्नुपर्ने भन्दै उनले प्रदेश सभाभित्र प्रवेश गरेका मन्त्री थापालाई बाहिर निकाल्न सभामुखलाई आग्रह गरेका हुन्। उनले मन्त्रीलाई बाहिर निकालेपछि मात्रै कार्यसूचि अगाडि बढाउन माग गरेका छन्।

बैंकिङ कसुरसम्बन्धी अभियोग लागेका भौतिक पूर्वाधार मन्त्री खड्क खत्रीलाई मुख्यमन्त्री शाहीले बर्खास्त गरेको स्मरण गराउँदै उनले अहिले सिर्जना भएको यो अवस्थालाई पनि कार्यान्वयन गर्न आग्रह गरेका छन्।

फ्लोर क्रस गरी मन्त्री बनेका थापाले जालसाजी मुद्दामा जेल सजाय पाएको खुलेको छ। वैशाख ४ गते मन्त्री नियुक्त भएपछि उनीविरुद्ध परेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले जेठ ३० गतेभित्र सर्वोच्चमा उपस्थित हुन भनेको छ।

सदनमा सभामुख शाहीले यो मुद्दा विचाराधीन भएकाले सदन चल्न आग्रह गरेका थिए। तर प्रमुख प्रतिपक्षी दलले भने उभिएर वैठक अवरुद्ध गरिरहेका थिए।

सवा २ बजेदेखि सुरु भएको बैठक आधा घण्टाका लागि अवरुद्ध भएको छ। एमाले र माओवादी पूर्ववत् अवस्थामा फर्किएपछि कर्णाली प्रदेश सभामा एमाले प्रमुख प्रतिपक्षी दलका रुपमा छ।

यसअघि नेकपा एकताका बेला प्रमुख प्रतिपक्षी दल रहेको नेपाली कांग्रेस दुई मन्त्रालय लिएर सरकारमा गएको छ।

प्रतिक्रिया दिनुहोस