अध्यादेशमार्फत् आज बजेट सार्वजनिक गर्दै सरकार

२०७८, जेठ १५

१५ जेेठ । देशमा चौतर्फी विरोध भइरहेकाे बेला सरकारले अध्यादेशमार्फत जेठ १५ मा बजेट ल्याउनै पर्ने संवैधानिक व्यवस्था भएकाले अध्यादेशमार्फत भए पनि २०७८/०७९ का लागि सरकारले सवा १६ खर्ब सम्मको बजेट ल्याउन लागेको छ।
सरकारले आज अध्यादेशमार्फत् आर्थिक वर्ष २०७८/०७९ का लागि बजेट ल्याउने जिकीर गर्दा विपक्षी दल र पूर्व अर्थमन्त्री, पूर्व प्रधानन्यायाधीश, योजना आयोगका नौ जना पूर्व उपाध्यक्ष, पूर्व प्रमुख निर्वाचन आयुक्त लगायतले अध्यादेशमार्फत प्रतिनिधि सभा विघटन गरिएको समयमा पूर्ण बजेट नल्याउन आग्रह गरिरहेका छन् ।
मूलतः कोरोना (कोभिड–१९) लाई नियन्त्रणमा लिन कोरोनाविरुद्धको खोप खरिद्, स्वास्थ्य संरचना सुधार, महामारीबाट समस्यामा परेको निजी क्षेत्रलाई राहत, ठूला आयोजनाको निरन्तरता लगायतका विषय बजेटमा समेट्ने तयारी छ । साथै आर्थिक पुनरुत्थानमा केन्द्रित रहेर सरकारले शनिबार सिंहदरबारबाट आगामी आर्थिक वर्ष २०७८/७९ को वार्षिक अनुमानित आय–व्यय विवरण सार्वजनिक गर्न लागिएको हो।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज दिउँसो ४ बजे बजेट सार्वजनिक गर्ने कार्यक्रम रहेको छ। बजेटको आकार सवा १६ खर्बको हुने जनाइएको छ। उक्त बजेटकाे लागि स्रोतले नधान्ने भएपछि सरकारले झण्डै पाँच खर्ब रुपैयाँ हाराहारीमा ऋण लिने गरी बजेट ल्याउन लागेको हो ।

प्रतिक्रिया दिनुहोस