गजल : डा .पूर्ण भण्डारी पङ्कज

७ जेठ २०७८, शुक्रवार

मान्छेदेखि मान्छे भाग्ने जमाना यो कस्तो भयो ?
चरा कीटभन्दा पनि मृत्यु अति सस्तो भयो ।।

हिजोअस्ति भरोसाथ्यो मान्छेदेखि मान्छेलाई
आज भने कोरोनाले समवेदना खस्तो भयो ।।

सन्त्रासमा बाँचेको छ दुनियाँ यो चारैतिर
कोभिडसँगै भूकम्प नि मान्छेभित्रै पस्तो भयो ।।

समवेदना शून्य जन लिप्त छ भष्ट्राचारमा
निरीह जनता उही अन्धकारमा बस्तो भयो ।।

गिराएर मनोबल आखिर हुने के नै छ र ?
आत्मबल नै हाम्रा लागि हतियारजस्तो भयो ।।

डा . पूर्ण भण्डारी पङ्कज

प्रतिक्रिया दिनुहोस