नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग असन्तुष्टि जनाउँदै राजीनामा नै दिने तयारी गरिएपनि अन्तिममा आएर राजीनामा आएन ।
सिंहदरबारमा भएको नेपाल पक्षको छलफलले सोमवारको प्रतिनिधिसभा बैठकमा सहभागी नहुने र प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।
यसअघि नेता माधवकुमार नेपालले पार्टीलाई विधिसम्मत तरिकाले चलाउने प्रतिबद्धता माग्दै पत्राचार गरेको भएपनि माग पूरा नभएकाले विश्वासको मत नदिने निर्णयमा पुगिएको नेता रावलले बताए । ‘उहाँले उल्टै दम्भ, अहंकार, गैरजिम्मेवारी शब्दको वक्तव्य जारी गर्नुभयो, पार्टीलाई विभाजित गर्नेतर्फ उद्यत हुनुभएको देखिएकाले विश्वासको मत दिन नसकिने । हामी पछि हटेका छैनौं,’ उनले भने ।
पार्टीले ह्वीप जारी गरेको सन्दर्भमा नेता रावलले भने, ‘महाधिवेशनबाट निर्वाचित कमिटीलाई उहाँले नै विघटन गरेको, निर्वाचित वैध अध्यक्ष नरहेको मान्छेले निर्देशन जारी गर्न पाइँदैन । आफूलाई वैध अध्यक्ष मान्ने हो भने महाधिवेशनबाट निर्वाचित कमिटीको बैठक राख्नुपर्यो । अहिले उहाँको निर्देशन अवैध छ, त्यसलाई मान्नु आवश्यक छैन ।’
प्रधानमन्त्री ओलीलाई विश्वसको मत दिनु सर्वथा लोकतान्त्रिक दृष्टिकोणले लोकतन्त्रलाई कमजोर तुल्याउने, राजनीतिक दृष्टिकोणले नैतिकता ध्वस्त गर्ने र स्थायित्वको दृष्टिकोणबाट देशलाई कमजोर तुल्याउने हुँदा मत नदिने रावलले बताए । ‘संविधानका धाराको अपव्याख्या गरेर विश्वासको मत माग्ने बैठक बोलाउनुभयो । विश्वासको मत दिइनुहुन्न, उहाँले प्रधानमन्त्रीबाट हट्नुपर्छ,’ रावलले भने ।