सल्यान, साउन ११ । सल्यानमा एक बृद्धा मृत अवस्थामा फेला […]
सल्यान, १२ साउन ।
सल्यानको पश्चिमी क्षेत्र लामो समयदेखि पर्याप्त वर्षा नहुँदा खडेरीको चपेटामा परेको छ । वर्षायामको मध्यतिर पुग्दापनि पर्याप्त पानी नपरेकाले धान, मकै, कोदो लगायत वर्षेवालीमा असर देखिन थालेको हो । विशेषगरी बनगाड कुपिण्डे नगरपालिकाका धेरै किसान यतिबेला सिँचाइको अभावले चिन्तित बनेका छन् । बनगाड खोला, माझकाँडा खोला तथा सुनौली खोलामा पानीको बहाव उल्लेख्य रूपमा घटेपछि ती स्रोतमा निर्भर सिँचाइ प्रणाली प्रभावित भएको नगरपालिकाले जनाएको छ । धेरै किसानको खेतमा पानी अभावकै कारण धान रोपाइँ हुन नसकेको तथा रोपिएको धानमा समेत आवश्यक सिँचाइ गर्न समस्या भएको किसानहरूले बताएका छन् ।
नगरपालिकाको कृषि शाखाका अनुसार पर्याप्त वर्षा नहुँदा पाखो बारीमा लगाइएको धान, मकै, कोदो तथा अन्य वर्षेवालीमध्ये करिब ३९ प्रतिशत क्षेत्रफल प्रभावित भएको आँकलन छ । त्यसैगरी ४३ प्रतिशत धानखेतीमा पनि पानीको अभावका कारण असर परेको छ । विशेष गरी वडा नं १, ४, ५ र ६ लगाएतका क्षेत्रमा पर्याप्त पानी नपर्दा वर्षेवालीमा समस्या भएको कृषि शाखा प्रमुख कृषि अधिकृत नारायणप्रसाद वेल्वासेले जानकारी दिनुभयो । हाल देखिएको पानीको अभाव जलवायु परिवर्तनको प्रभावसँगै वन विनाश, जथाभावी सडक निर्माण, पानीका मुहान सुक्दै जानु लगायतका विभिन्न प्राकृतिक र मानवीय कारणको संयुक्त परिणाम हुन सक्ने उहाँको भनाई छ ।
बनगाड खोला र सुनौली खोलामा पानीको मात्रा घटेकाले तल्ले क्षेत्रका किसानले खेतमा पानी पु¥याउन नसक्दा खेतीयोग्य जमिन बाँझै छोड्न बाध्य भएका छन् । रोपाइ सम्पन्न भएका खेतमा समेत पानीको अभावले जमिन चिरा पर्न थालेको बताइएको छ । किसानहरूका अनुसार धान रोपेपछि पर्याप्त सिँचाइ गर्न नपाउँदा बोट सुक्ने, रोग लाग्ने र उत्पादन घट्ने जोखिम बढेको छ । बनगाड खोलाको सिरान क्षेत्रमा पानी सुक्दै जाँदा किसानहरू रातभर पालैपालो पानी लगाउन जाग्राम बस्नुपर्ने अवस्था रहेको उनीहरूको भनाइ छ । यस वर्ष पाखो बारीमा लगाइएको मकै समेत सुक्न थालेको किसानहरु बताउँछन् ।
बगाडको ४८७१ हेक्टर पाखो बारी र ९७५ हेक्टर खेत गरेर जम्मा ५८४६ हेक्टर क्षेत्रफलमा खेति हुँदै आएको छ । समयमै पर्याप्त वर्षा वा वैकल्पिक सिँचाइको व्यवस्था हुन नसके वर्षेवाली उत्पादनमा उल्लेख्य गिरावट आउने भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।
स्थानीय दोर्ण यरीले दीर्घकालीन सिँचाइ पूर्वाधार निर्माणमा राज्यको ध्यान नपुगेको गुनासो गर्दै भेरी नदी तल बगिरहे पनि नदी किनारका धेरै खेतीयोग्य जमिन पानी अभावकै कारण बाँझै हुनु दुःखद् पक्ष रहेको बताउनुहुन्छ । उहाँले विकासका नाममा हरेक वर्ष सडक विस्तारका लागि भिरपाखा खन्ने, वन फँडानी गर्ने र एउटै गाउँमा पुग्न आवश्यकता भन्दा बढी सडक निर्माणमा बजेट खर्च हुने गरेको उल्लेख गर्दै किसानका लागि सिँचाइ पूर्वाधार निर्माणमा भने प्राथमिकता नदिइएको बताउनुभयो ।
“भेरी नदीको पानी माथि तान्ने क्षमता स्थानीयसँग छैन। सरकारले एउटा गहिरो बोरिङ वा भरपर्दो सिँचाइ आयोजना निर्माण गरिदिएको भए किसानले यस्तो सास्ती भोग्नुपर्ने थिएन,” उहाँले भन्नुभयो ।
स्थानीयवासीहरूले नगरपालिकासहित सम्बन्धित सरकारी निकायलाई वैकल्पिक सिँचाइको व्यवस्था गर्न, दीर्घकालीन सिँचाइ योजना अघि बढाउन तथा खडेरीबाट प्रभावित किसानलाई राहत र आवश्यक कृषि सहयोग उपलब्ध गराउन माग गरेका छन् ।
