सल्यान। सल्यानको शारदा नगरपालिका–१३ स्थित चलाउनेपानी, बागखोर बजारमा स्थानीय युवाहरूको […]
सल्यान, १ असोज ।
विद्यालयमा पढाइने विज्ञान विषयलाई व्यवहारिक ज्ञान र प्रतिस्पर्धासँग जोड्ने उद्देश्यले सल्यानको छत्रेश्वरी गाउँपालिकाले माध्यमिक तहका विद्यार्थीबीच विज्ञान हाजिरीजवाफ प्रतियोगिता आयोजना गरेको छ । राष्ट्रिय विज्ञान दिवसका अवसरमा आयोजित प्रतियोगितामा गाउँपालिकाभित्रका नौ माध्यमिक विद्यालयका विद्यार्थीले विज्ञान तथा प्रविधिसम्बन्धी प्रश्नमा प्रतिस्पर्धा गरेका हुन् ।
कक्षा ९ र १० का विद्यार्थीबीच भएको प्रतियोगितामा शारदा माध्यमिक विद्यालय संखमूल प्रथम भएको छ । भानुभक्त माध्यमिक विद्यालय दमाचौर द्वितीय र त्रिभुवन जनता माध्यमिक विद्यालय भोटेचौर तृतीय भएका छन् ।
विद्यार्थीमा विज्ञान तथा प्रविधिप्रतिको रुचि, जिज्ञासा र ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको गाउँपालिकाले जनाएको छ । प्रतियोगितामा विद्यार्थीले विज्ञान तथा प्रविधिसँग सम्बन्धित विभिन्न प्रश्नको उत्तर दिँदै आफ्नो ज्ञान र क्षमता प्रस्तुत गरेका थिए ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय भएका विद्यालयका विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको त्रिभुवन जनता माध्यमिक विद्यालय भोटेचौरका विज्ञान शिक्षक नेत्रलाल भट्टराईले जानकारी दिनुभयो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष ओजबहादुर बुढाथोकीले विद्यालय तहदेखि नै विद्यार्थीमा विज्ञान तथा प्रविधिप्रतिको रुचि विकास गर्नुपर्ने बताउनुभयो । विज्ञानलाई पाठ्यपुस्तकमा मात्र सीमित नराखी दैनिक जीवन र व्यवहारसँग जोडेर सिकाउने वातावरण बनाउनुपर्ने उहाँको भनाइ थियो ।
गाउँपालिका उपाध्यक्ष बुद्धकुमारी खत्रीले यस्ता प्रतियोगिताले विद्यार्थीको प्रतिभा पहिचानसँगै क्षमता विकासमा सहयोग पुग्ने बताउनुभयो ।
गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख एवं वरिष्ठ शिक्षा अधिकृत गणेश न्यौपाने र नेपाल विज्ञान शिक्षक संघ सल्यानका अध्यक्ष ललित पुनले विज्ञान विषयप्रति विद्यार्थीको रुचि बढाउन तथा विद्यालयबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्न यस्ता कार्यक्रम उपयोगी हुने बताउनुभयो ।
गाउँपालिकाले आगामी दिनमा पनि विद्यार्थीको क्षमता र प्रतिभा विकासमा केन्द्रित शैक्षिक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।
