सल्यान, २५ भदौ । प्रमुख जिल्ला अधिकारी बन्दना कुमारी […]
सल्यान, २७ भदौ
सल्यानमा शनिबार बिहान भएको बोलेरो जीप दुर्घटनाका घाइते मध्ये दुई जनाको मृत्यु भएको छ । चालकसहित थप चार जना घाइते भएका छन् ।
त्रिवेणी गाउँपालिका–५ सिम्कमा भएको दुर्घटनामा घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला अस्पताल सल्यानमा उपचाररत रेशम बुढाथोकी र बिपना बुढाथोकीलाई बिहान १०ः२२ बजे चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
सिम्कबाट गाउँपालिकाको केन्द्र लुहाम हुँदै दाङतर्फ जाँदै गरेको लु.प्र.०२००१ ज ०००५ नम्बरको बोलेरो जीप बिहान करिब ८ बजे अनियन्त्रित भई सडकबाट करिब ९० मिटर तल खसेको थियो ।
दुर्घटनामा त्रिवेणी–५ सिम्खका २४ वर्षीय चालक भुपाल पुन गम्भीर घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको र बोल्न नसक्ने अवस्था रहेको प्रहरीले जनाएको छ । सोही ठाउँका २९ वर्षीय पारस बोहरा र ५० वर्षीय डिल्लीबहादुर वलीको पनि टाउकोमा चोट लागेको छ । उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै त्रिवेणी गाउँपालिका–६ की करिब ४२ वर्षीया लालमति बुढाथोकी पनि घाइते भएकी छन् । उनको टाउकोमा चोट लागेको र बोल्न नसक्ने अवस्था रहेको बताइएको छ ।
घाइते चार जनालाई लुहामस्थित त्रिवेणी हेल्थ केयरमा सामान्य उपचारपछि थप उपचारका लागि दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ । अन्य दुई जना घाइतेलाई जिल्ला अस्पताल सल्यान पठाइएको थियो । उनीहरूमध्ये रेशम बुढाथोकी र बिपना बुढाथोकीको उपचारका क्रममा मृत्यु भएको हो ।
दुर्घटनाको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय लुहामबाट प्रहरी निरीक्षक सोम घर्ती मगरको कमाण्डमा १० जनाको टोली घटनास्थल पुगेको थियो । प्रहरीले घाइतेहरूको उद्धार गरी उपचारका लागि पठाएको थियो ।
दुर्घटनामा परेको बोलेरो घटनास्थलमै रहेको र घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।
