भलिबल संघ सल्यानको तेश्रो अधिवेशनबाट अध्यक्षमा चलाउने चयन

सल्यान, २७ भदौ ।

भलिबलको संस्थागत विकासलाई प्राथमिकता दिने प्रतिबद्धता सहित नेपाल भलिबल संघ सल्यानको नयाँ कार्यसमिति चयन भएको छ । जसको अध्यक्षमा कैलाश चलाउने चयन हुनुभएको छ । जिल्ला खेलकुद विकास समितिको कार्यालयमा सम्पन्न संघको तेस्रो अधिवेशनले चलाउनेको नेतृत्वमा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा सुरेन्द्र चन्द, सचिवमा धिरेन्द्र परियार र कोषाध्यक्षमा सुरक्षा परियार चयन हुनुभएको छ । सदस्यहरूमा मनबहादुर पुन मगर, पुष्पा पुन, सन्दिप विक, दिपक पुन र खिम केसी चयन हुनुभएको छ ।

अधिवेशनले खेलाडी उत्पादन, स्थानीयस्तरमा प्रतियोगिताको विस्तार र जिल्लामा भलिबलको गतिविधिलाई थप व्यवस्थित बनाउने जिम्मेवारी नयाँ नेतृत्वलाई दिएको छ । वक्ताहरूले सल्यानमा भलिबल प्रति युवाको आकर्षण रहे पनि त्यसलाई व्यवस्थित प्रशिक्षण, नियमित प्रतियोगिता र प्रतिभा पहिचानसँग जोड्नुपर्नेमा जोड दिएका छन् ।

अधिवेशनमा नेपाल भलिबल संघका केन्द्रीय सचिव सोमबहादुर श्रेष्ठ, निवर्तमान जिल्ला अध्यक्ष खेमराज केसी, त्रिवेणी गाउँपालिका वडा नं ३ का वडाध्यक्ष कर्णदेव डाँगी, क्रिकेट संघ सल्यानका अध्यक्ष सबिन हमाल, राष्ट्रिय रेफ्री खगेन्द्र माझी, जिल्ला खेलकुद विकास समिति सल्यानका सदस्यसचिव तुफान वली, नेपाल भलिबल संघ सुर्खेतका अध्यक्ष रविन्द्र शाही, कोषाध्यक्ष गणेश शाही र एथलेटिक्स संघ सल्यानका अध्यक्ष वीरबहादुर भँडेल लगायतको उपस्थिति थियो । वक्ताहरूले जिल्लामा खेलकुदको विकासका लागि संघसंस्थाबीच सहकार्य आवश्यक रहेको बताएका थिए ।

उनीहरूले भलिबललाई प्रतियोगिता आयोजना गर्ने गतिविधिमा सीमित नराखी विद्यालय तहदेखि नै खेलाडी पहिचान र प्रशिक्षणको वातावरण बनाउनुपर्ने, स्थानीय तह तथा खेलकुदसँग सम्बन्धित निकायसँग समन्वय बढाउनुपर्ने र जिल्लाका प्रतिभालाई प्रदेश तथा राष्ट्रियस्तरका प्रतियोगितासम्म पुर्‍याउने गरी योजना बनाउनुपर्नेमा जोड दिएका थिए ।

नवनिर्वाचित अध्यक्ष चलाउनेले भलिबलको विकासका लागि सबै पक्षसँग सहकार्य गर्दै जिल्लाका खेलाडीलाई अवसर सिर्जना गर्ने र नियमित खेल गतिविधिलाई प्राथमिकता दिने प्रतिबद्धता जनाउनुभएको छ ।

सल्यानमा विद्यालय तथा स्थानीयस्तरमा भलिबल प्रतियोगिताको लोकप्रियता बढ्दै गए पनि पर्याप्त प्रशिक्षण, पूर्वाधार र नियमित प्रतियोगिताको अभावमा प्रतिभाहरूले अपेक्षित अवसर पाउन नसकेको अवस्था छ । नयाँ कार्यसमितिका लागि जिल्लाको भलिबल गतिविधिलाई एकीकृत गर्दै खेलाडी उत्पादन देखि प्रतियोगिता सम्मको वातावरण निर्माण गर्नु मुख्य चुनौतीका रूपमा देखिएको छ ।

प्रतिक्रिया दिनुहोस