कर्णालीको मुख्यमन्त्रीमा दाबी गर्ने को हुन् गुलाबजंग शाह ?

देश अहिले निर्वाचनमय भएको छ । यहि मंशिर ४ गतेका लागि प्रतिनिधीसभा र प्रदेशसभा सदस्य पदका लागि उम्मेदवारहरु मतदाता रिझाउन निरन्तर रुपमा गाउँवस्तीमा घरदैलो तथा चुनावी भेटघाटमा व्यस्त छन् । यहि व्यस्ततामा छन् नेकपा एमालेका पोलिटव्युरो सदस्य गुलाबजंग शाह । शाह प्रदेशसभा सदस्य पदका लागि सल्यान निर्वाचन क्षेत्र नम्बर (ख) बाट उम्मेदवार बनेका छन् । पार्टी केन्द्रीय नेतृत्व अथवा केन्द्रीय राजनीतिमा पनि सहज पहुँच राख्न सक्ने र नरम स्वभावका उनी पार्टी र समुदायका मुद्दामा भने खरो रुपमा प्रस्तुत हुन्छन् । अव कर्णालीको नेतृत्व सल्यानले गर्नुपर्छ भन्ने अभियानका साथ निर्वाचनमा होमिएका शाह यो प्रदेशको मुख्यमन्त्रीको दाबेदारको रुपमा अघि बढेका छन् । को हुन् त गुलाबजंग शाह ? एकपटक उनको राजनीतिक जीवनयात्रा संक्षिप्तमा बुझौँ ।

शाहको राजनितीक संलग्नता संक्षिप्तमा

सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा वि.सं. २०२२ सालमा जन्मीएका गुलाबजंग शाह आफुलाई जनसेवकको रुपमा प्रस्तुत गर्दछन् । २०४० सालमा अनेरास्ववियु पाँचौमा आवद्ध भएका शाह त्यस यता निरन्तर सक्रिय राजनितीमा छन् । कर्मचारी अनुभव पनि संगालेका उनी
२०४७ सालमा नेपाल कर्मचारी संगठन बाँकेको जिल्ला कमिटी सदस्यको जिम्मेवारी प्राप्त गरेका थिए । शाह २०५० सालमा सल्यान काठमाडौ सम्पर्क मंचमा आवद्ध भएका थिए ।

उनी २०५३ सालमा युवा संघ नेपालको केन्द्रीय सदस्य बने । नेकपा माले सल्यानको तेश्रो जिल्ला अधिवेशनबाट सचिवमा निर्वातिच हुँदै उनी २०५६ सालमा सल्यान १ बाट प्रतिनिधीसभा सदस्य पदको उम्मेदवार बनेका थिए ।

२०५८ मा नेकपा माले र नेकपा एमालेको समिकरण भयो । त्यसबेला उनले एमालेको सल्यान जिल्ला कमिटी सचिवालय सदस्यको जिम्मेवारी पाएका थिए । सल्यानबाट नेकपा एमालेको राष्टिय प्रतिनिधी सदस्यमा २०६६ सालमा विजयी भएका शाहलाई २०७० सालमा नेकपा एमालेले संविधिानसभा सदस्यको निर्वाचनका लागि सल्यान १ बाट उम्मेदवार बनाएको थियो ।

एमालेको नवौँ महाधिवेशनबाट २०७१ सालमा केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भएका उनी संगठन निर्माण र पार्टीको काममा सक्रियताका साथ लागिपरे । शाह त्यतिखेर एमाले सल्यानका पार्टी इन्चार्ज समेत थिए ।

उनी पहिलो प्रदेशसभा निर्वाचनमा २०७४ सालमा सल्यान (क) बाट विजयी बने । यसका साथै शाह नेकपा एमाले कर्णाली प्रदेशको प्रमुख सचेतकमा समेत चुनीए । २०७५ सालमा नेकपा एमाले र माओवादी केन्द्रको एकतापछि नेकपा कर्णाली प्रदेशको प्रमुख सचेतकमा नियुक्त भएका थिए । २०७७ सालमा पार्टी विभाजनपछि फेरी शाह नेकपा एमाले कर्णाली प्रदेशको प्रमुख सचेतकमा नियुक्त भए ।

२०७८ मा नेकपा एमालेको दशौँ महाधिवेशनबाट केन्द्रीय सदस्य पदमा निर्वाचित भएका उनले पार्टीको पोलिटब्युरो सदस्यको महत्वपूर्ण जिम्मेवारी पाए । पार्टीका कर्णाली प्रदेश सह इन्चार्ज समेत रहेका शाह अहिले प्रदेशसभा सदस्य पदका लागि सल्यान (ख) बाट गठवन्धन विरुद्ध प्रतिष्पर्धामा छन् । उनी यस अघि २०७७ मा एमाले कर्णाली प्रदेश कमिटी अध्यक्षको जिम्मेवारीमा समेत रहेर काम गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस