सल्यान, २० असोज । परामर्श र सचेतना कार्यक्रमहरू स्वास्थ्य सेवा […]
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारलाई ‘खैजडी सरकार’को उपमा दिँदै वैशाख ३० गते हुने स्थानीय तहको चुनाव रोक्ने कोसिस गरिरहेको आरोप लगाएका छन्।
सोमबार बझाङको चैनपुरमा आयोजित जनसभालाई सम्बोधन गर्दै ओलीले अध्यादेश र नक्कली कानुन ल्याएर सरकारले चुनाव सार्न र जनप्रतिनिधिविहीन अवस्थामा देशलाई पुर्याउन खोजेको भन्दै आरोप लगाएका हुन्।
वैशाख ३० को स्थानीय तहको निर्वाचन व्यवस्थित तरिकाले निर्वाध रूपमा हुनुपर्ने उनले बताए।
‘यो सरकारले अजम्बरी बुटी पाएको नसम्झे हुन्छ, एमालेले चाहे सात दिनमै यसको जरा उखेर फाल्न सक्छ, तर अहिले चुनाव विथोल्ने निहुँ नपाऊन् भनेर चुप लागेका छौं,’ ओलीले भने।
अघिल्लो स्थानीय चुनावमा पनि बझाङमा कांग्रेस–माओवादी मिले पनि एमाले एक्लैले आठ पालिकामा जितेको थियो भने एकमा उपप्रमुख जितेको थियो।
अहिले पनि पाँच बाख्रा एक ठाउँमा भए पनि भैंसी जत्रो नहुने भन्दै ओलीले गठबन्धनलाई व्यंग्य गरे।
नगरपालिकाका मेयर/उपमेयर, वडा अध्यक्षहरू समेत एमालेमा आउन थालेका उनले बताए।
‘अब पहाड मात्र होइन मधेश पनि एमालेको हो, पूर्व पनि, पश्चिम पनि जता गयो एमालेको हो,’ उनले भने।
आगामी निर्वाचनपछि माओवादी केन्द्र ‘केन्द्र’ मात्रै बाँकी रहने ओलीको भनाइ छ।
अहिलेको सरकारले ज्येष्ठ नागरिक भत्ता दिन नसक्ने अवस्थामा अर्थतन्त्त पुर्याएको उनले दोहोर्याए।
‘हामी कर्मचारीको तलब कोभिडका बेला पनि बढाएका थियौं तर अहिले देशको अवस्था सेना, प्रहरी, शिक्षकलाई तलब दिन नसक्ने भएको छ, विकास, बाटा, अस्पताल निर्माण रोकिएको छ,’ उनले भने।