सल्यान, २३ कार्तिक । युवा सोच र विचारः शारदाको समृद्धिको […]
माघ २८|एमसीसी संसद्बाट तत्काल अनुमोदन गर्ने कि नगर्ने विषयले सत्तारुढ गठबन्धनमा झन् दरार उत्पन्न भएको छ। कांग्रेस जसरी पनि अमेरिकी अनुदान सहायता सम्झौता अनुमोदन गरी अघि बढ्ने पक्षमा छ। माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी तत्काल सम्झौता अनुमोदनको पक्षमा देखिएका छैनन्।
गठबन्धनका मुख्य तीन दलका नेताबीच यही विषयमा बिहीबार बालुवाटारमा छलफल भएको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्न बालुवाटार पुगेका थिए। देउवा र दाहालले एमसीसीलाई पठाएको पत्र सार्वजनिक भएपश्चात् तीन नेताको पहिलो जमघट हो यो। दाहालले एमसीसीको विषय चुनावपछि लैजाने प्रस्ताव गरेको बालुवाटार स्रोतले बतायो।
दाहालको प्रस्ताव थियो, ‘पत्र सार्वजनिक भएसँगै पार्टीभित्र समस्या सिर्जना भएको। साथीहरूको धारणा पनि सुन्नुपर्ने हुनाले बरु निर्वाचनपछि एमसीसीको विषयलाई जोडौं।’ दाहालकै पछि लागेका नेपालले अहिले एमसीसीको पक्षमा जान नसकिने जवाफ प्रधानमन्त्री देउवालाई दिएका थिए। कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसीका विषयमा विशेष छलफल भएको बताए। सभामुखले एमसीसीलगायत सरकारी विधेयक रोक्न नमिल्ने डा. महतको भनाइ छ। ‘सभामुखको काम के हो? सरकारका महत्वपूर्ण विधेयकहरू सदनमा टेबल गर्ने नै हो जस्तो लाग्छ’, डा. महतले भने, ‘एमसीसीबारे पनि छलफल भएको छ। अन्योल समाप्त गरेर संसदीय प्रक्रिया अघि बढाउनुपर्छ। संसद्मा एमसीसी लानुपर्छ भन्नेमा साथीहरूको धारणा छ।’
पार्टीको कार्यसम्पादन समिति बैठकमा पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्रीलाई एमसीसीको विषय बुंदाधुंदा प्रस्ट पारी ढुक्कले पास गर्नेतर्फ लाग्न आह्वान गरिएको कांग्रेसका अर्का नेता डा. रामशरण महतले बताए। भने, ‘गठबन्धनको विषय र एमसीसी फरक विषय हो। एमसीसी विकासको पाटो हो भने गठबन्धन भनेको सहमतिमा पनि अगाडि जान सकिने विषय हो। यति महत्वपूर्ण अनुदान पटक-पटक नआउने उनले बताए। भने, ‘सभापतिज्यू सकारात्मक हुनुहुन्छ। उहाँले संक्षेपमा ल्याउनुहोस् म अरू साथीहरूसँग पनि कुरा गर्छ भन्नुभएको छ।’ दाहालले जेसुकै बोली फेरे पनि उनी एमसीसीकै पक्षमा रहेको पत्रले प्रस्ट पारेको उनले बताए। अन्नपूर्ण पोस्टमा सुरेन्द्र काफ्ले र राधा खनालले खबर लेखेका छन् ।