विद्यालय खोल्ने विषयमा प्रधानमन्त्री कार्यालयमा छलफल,फागुन १ गतेदेखि खोल्ने तयारी !

२१ माघ २०७८, शुक्रवार

काठमाडौँ– कोरोना संक्रमणका कारण बन्द गरिएका विद्यालयहरू खोल्ने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले सरोकारबाला पक्षसँग सुझाव लिन सुरु गर्नुभएको छ ।

देउवाले भौतिक रूपमा विद्यालय खोल्ने विषयमा आज सरोकारवालासँग छलफल गरिरहेका छन् । कोरोनाको संक्रमण बढेपछि शिक्षा मन्त्रालयले शिक्षण संस्थाहरू बन्द गर्ने निर्णय गरेको थियो ।

यद्यपि, पछिल्लो समयमा संक्रमण दरका कमी आउन थालेपछि केही स्थानीय तहले आ–आफ्नै निर्णय गरी विद्यालय खोल्ने थालेका छन् ।

संक्रमणको अवस्था हेरेर फागुन १ गतेदेखि विद्यालय खोल्ने तयारी गरेको छ । स्थानीय तहले नै आफ्नो क्षेत्रको संक्रमणको अवस्था हेरेर विद्यालय खोल्ने सक्नेगरी तयारी भएको छ ।

अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले प्रधानमन्त्रीको कार्यालयमा भएको छलफलबाट फागुन १ गतेदेखि विद्यालयहरू खोल्नेबारे छलफल भएको जानकारी दिए ।

‘‘आज शिक्षा मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, प्रधानमन्त्री कार्यालय, संघीय मामिला मन्त्रालय, अभिभावक संघ, सीसीएमसीसीका पदाधिकारीहरूबीच छलफल भयो । स्थानीय तहलाई नै अवस्था हेरेर विद्यालय खोल्न दिनेबारे छलफल भयो,” उनले भने ।

केही स्थानीय तहले विद्यालय खोल्ने निर्णय गरिसकेका छन् ।

यसअघि सीसीएमसीसीले माघ मसान्तसम्म भौतिक रूपमा शैक्षिक संस्थाहरू बन्द गर्न सरकारलाई सिफारिस गरेको थियो । त्यसैअनुसार शैक्षिक संस्थाहरू अहिले बन्द छन् ।

प्रतिक्रिया दिनुहोस