लगातार दोस्रो पटक काँग्रेस सभापति बन्न सफल देउवाको यस्तो छ राजनीतिक पृष्ठभूमि

२९ मंसिर २०७८, बुधवार

काठमाडौं- नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा पुन: निर्वाचित हुनु भएकाे‌ छ । मंगलबार राति सम्पन्न निर्वाचनमा देउवाले सभापतिका अर्का उम्मेदवार शेखर कोइरालालाई पराजित गर्नु भएको हो ।

२००३ सालमा डडेलधुरामा जन्मिनु भएका देउवा विद्यार्थी कालदेखि कांग्रेसको राजनीतिमा सक्रिय भएर लाग्नु भएको थियो ।

नेपाल विद्यार्थी संघको (दोश्रो) महाधिवेशनबाट अध्यक्ष चयन हुनु भएका देउवा २०४६ सालपछिका तीनवटै संसदीय निर्वाचन र दोश्रो जनआन्दोलनपछिका दुईवटै संविधानसभा चुनावमा लगातार विजयी हुँदै आउनु भएको छ । देउवा गृहमन्त्री हुँदै २०५२ सालमा पहिलो पटक प्रप्रधामन्त्री बन्नु भएको थियो ।

२०५२ सालमा एमाले नेता मनमोहन अधिकारी नेतृत्वको अल्पमतको सरकार ढलेपछि देउवा पहिलोपटक प्रधानमन्त्री बन्नु भएको थियो ।

देउवा पाँचौं पटक देशको प्रधानमन्त्री बन्नु भएको छ । पछिल्लो पटक केपी शर्मा ओलीको बहिर्गमनपछि गठबन्धनको नेतृत्व गर्दै देउवा प्रधानमन्त्री बन्नु भएको हो ।

गिरिजाप्रसाद कोइरालासँगको अन्तर्द्वन्द्वका कारण उहाले २०५९ सालमा नेपाली कांग्रेससलाई फुटाएर नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन गर्नु भएको थियो । २०६२/६३ सालको जनआन्दोलनपछि २०६४ सालमा देउवाको उक्त पार्टी पुनः नेपाली कांग्रेसमा एकीकृत भएको थियो ।

त्यसपछि देउवाले पार्टीमा आफ्नो प्रभाव बढाउँदै लैजानु भयो ।

कोइराला परिवारको बोलावाला रहेको कांग्रेसमा देउवा लगातार दुई पटक विजयी हुँदै सभापति निर्वाचित हुनु भएको छ ।

देउवाले त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर तथा कानुनमा स्नातक गर्नु भएको छ । सन् १९८९ देखि १९९० सम्म उहाँ लन्डन स्कूल अफ इकनिमिक्समा राजनीतिशास्त्रको रिसर्च फेलो रहनु भएको थियो ।



प्रतिक्रिया दिनुहोस