मान्छे पासो लागेर मरेको डोरी महँगोमा बिक्री हुने भन्दै डोरीले कसेर महिलाको हत्या, ३ जना पक्राउ

२४ असोज २०७८, आइतवार

मान्छे पासो लागेर मरेको डोरी महँगोमा बिक्री हुने भन्दै महिलालाई डोरीले घाँटी कसेर मारेको पाइएको छ। डोरी महँगोमा बिक्री हुने भन्ने अन्धविश्वासका कारण महिलालाई हत्या गरेको आरोपमा तीन जनालाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ गाउँपालिका-५ प्याङ्चे टोल घर भइ ललितपुर हरिसिद्धी बस्दै आएका २३ वर्षीय सविन प्रजा, सोही ठाउँ घर भइ हरिसिद्धी बस्ने १८ वर्षीय प्रविना प्रजा माझी र मोरङ पथरी शनिश्चरे नगरपालिका-८ मंगलबारे घर भइ हरिसिद्धि नै बस्दै आएका २० वर्षीय सुमन मगर छन्। पक्राउ परेका सविन र प्रविना श्रीमान्-श्रीमती हुन्।



भदौ २५ गते बिहान साढे ६ बजेतिर ललितपुर सुनकोठीमा नुवाकोटको बेलकोटगढी नगरपालिका-९ की ४५ वर्षीया कमला तामाङ मृत फेला परेकी थिइन्। उक्त घटनाको अनुसन्धानका लागि महाशाखा र महानगरीय प्रहरी वृत्त चापागाउँका टोली खटिएका थिए। अनुसन्धानका क्रममा तामाङको डोरीले घाँटी कसेर हत्या गरेको हुनसक्ने प्रहरीले आशंका गरेको थियो।
सोही अनुसन्धानका क्रममा हाल पक्राउ परेका व्यक्तिहरुले घाँटी कसेर हत्या गरेको डोरी महँगोमा बिक्री हुने भन्ने अन्धविश्वासका कारण हत्या गरिएको खुलेको महाशाखाका एसपी कृष्ण कोइरालाले बताए। सुरुमा प्रहरीले सुमनलाई असोज २१ गते हरिसिद्धीबाटै पक्राउ गरेको थियो। उनी पक्राउ पेपछि घटनाको रहस्य खुलेको थियो। त्यसपछि बाँकी दुई जनालाई मकवानपुर मनहरी गाउँपालिका-७ बाट असोज २२ गते पक्राउ गरिएको हो।

अनुसन्धानका क्रममा घटनामा संलग्न सविन प्रजा र सुमन मगरले मानिस पासो लागेर मरेको डोरी, राम लक्ष्मण र हनुमान भएको पुराना सिक्का (पैसा), दाहिने शंख, चट्याङ परेको ढुङ्‍गा लगायतका वस्तुहरू महत्त्वपूर्ण हुने र करोडौं रुपैयाँमा बिक्री हुने भन्ने कुराहरू सुनी सोही अन्धविश्वासमा परी कमलाको हत्या गरेको खुलेको प्रहरीले जनाएको छ।
त्या गरिएको महिला र सुमनको पहिलै चिनजान रहेको खुलेको छ। भदौ २४ गते साँझ साढे ४ बजे उनीहरु एक्लै टहरमा बस्दै आएकी कमलाकोमा गएका थिए। मापसे गरेर उनीहरु सुतेका थिए। त्यसपछि उनीहरुले कमलाको हात बाँधेर घाँटीले डोरीमा कसेर हत्या गरेको खुलेको प्रहरीले जनाएको छ। हत्यापश्चात् मृतकको कानमा लगाएको गहना र मोबाइलसमेत लिएर उनीहरु फरार भएका थिए।

प्रतिक्रिया दिनुहोस