कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले लेखा समूहका कर्मचारीहरुको […]
१० भदौ|निर्वाचन आयोगले बुधबार एमाले विभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी) र जसपा विभाजन भएर बनेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई दर्ताको प्रमाणपत्र दिएको छ। योसँगै निर्वाचन आयोगमा दर्ता भएका दलको संख्या ९७ पुगेको छ।
बुधबार केन्द्रीय सदस्यको सनाखतपछि आयोगले एमाले विभाजन भएर माधवकुमार नेपालको नेतृत्वमा बनेको एकीकृत समाजवादीलाई दल दर्ताको प्रमाणपत्र दिएको हो। आयोगले दिएको १६६ नम्बरको प्रमाणपत्र भनिएको छ, ”नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) नामक राजनीतिक दलबाट छुट्टिई बनेको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) नामक राजनीतिक दललाई राजनीतिक दल सम्बन्धी ऐन, २०७३ (दोस्रो संशोधन अध्यादेश, २०७८) को दफा ३३ बमोजिम निर्वाचन आयोगमा दर्ता गर्ने गरी आयोगबाट मिति २०७८/०५/०९ मा निर्णय भएकोले यो प्रमाणपत्र दिइएको छ।”
राजनीतिक दल सम्बन्धी ऐनको दफा ३३ मा दल विभाजन सम्बन्धी व्यवस्था रहेको छ। जसमा दल विभाजन भएर नयाँ दल गठनका लागि २० प्रतिशत केन्द्रीय सदस्य वा सांसद आवश्यक हुने उल्लेख छ।
नेपाल नेतृत्वको एकीकृत समाजवादीले २० प्रतिशतभन्दा बढी केन्द्रीय सदस्यको सनाखत गरेर नयाँ दल दर्ताको प्रमाणपत्र पाएको हो। बुधबार भएको सनाखतमा एकीकृत समाजवादीको पक्षमा एमालेका ५९ जना सांसदले सनाखत गरेका छन्। त्यस्तै, एमालेका ३४ जना सांसद पनि नयाँ दल दर्ताका लागि सनाखत गर्न आयोग पुगेका थिए।
यसकै आधारमा नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई राष्ट्रिय दलको मान्यता दिँदै दर्ताको प्रमाणपत्र दिने आयोगले निर्णय गरेको हो। यससँगै अब एमालेबाट एकीकृत समाजवादीमा आउने जनप्रतिनिधिको पद जोगिइने भएकाे छ।
उनीहरूले २१ दिनभित्र नयाँ दलमा प्रवेश गरेको घोषणा गर्नसक्नेछन्। यसका लागि केन्द्रमा निर्वाचन आयोगमा, प्रदेशमा आयोगको प्रदेश कार्यालयमा र स्थानीय तहका जनप्रतिनिधिले जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिनसक्ने व्यवस्था गरिएको छ।
त्यस्तै, महन्थ ठाकुर नेतृत्वको लोसपाले पनि दल दर्ताको प्रमाणपत्र पाएको छ। लोसपाको पक्षमा जसपाका १४ जना सांसदले सनाखत गरेका थिए।
जसपाले ठाकुर लगायत नेताहरूलाई केन्द्रीय सदस्यबाट हटाएकाले सांसदको सूची दिएर दल दर्ताका लागि निवेदन दिइएको थियो। त्यहिअनुसार, आज जसपाका १४ जना सांसदले लोसपाका पक्षमा सनाखत गरेका थिए।
दल दर्ताको प्रमाणपत्र पाएसँगै लोसपा पनि नयाँ राष्ट्रिय दल बनेको छ। अब जसपाबाट लोसपामा आउने जनप्रतिनिधिको पनि पद जोगिने भएको छ।