सल्यान, २१ कार्तिक । सल्यानबाट पाँच लाख रुपैयाँ लगानीमा सुरु […]
सल्यान, २१ कार्तिक ।
तिहारको अवसरमा सल्यानको छत्रेश्वरीमा विद्यार्थीले परम्परागत सेरेङ्गे नाचसहित देउसीभैलो सुरु गरेका छन् । मौलिक लोककला र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले छत्रेश्वरी गाउँपालिका–५ लेखपोखरास्थित त्रिभुवन जनता माध्यमिक विद्यालय चौरपानीले यस वर्ष सेरेङ्गे (मयूर) नाचलाई प्राथमिकता दिँदै देउसीभैलो कार्यक्रम सुरु गरेको हो ।
विद्यार्थीले सेरेङ्गे नाच प्रस्तुत गर्दै देउसीभैलो खेल्न थालेपछि तिहारको सांस्कृतिक रौनक थपिएको छ । विद्यालयले आफ्नो देउसीभैलो कार्यक्रम स्थानीय समाजसेवी रमेश बुढाको ढोरेनीस्थित घरबाट सुरु गरेको हो । आधुनिक मनोरञ्जनका शैलीप्रति नयाँ पुस्ताको आकर्षण बढिरहेका बेला विद्यार्थीलाई मौलिक लोकनृत्यसँग जोड्ने विद्यालयको प्रयासले परम्परागत संस्कृतिको संरक्षणमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
छत्रेश्वरी गाउँपालिकाका प्रवक्ता एवं वडा नं. ५ का वडाध्यक्ष फौदबहादुर बस्नेतले पछिल्लो समय नयाँ पुस्तामा परम्परागत लोकनाच तथा संस्कृतिप्रतिको आकर्षण घट्दै गएको बताए । विद्यार्थीले सेरेङ्गे नाच सिकेर विभिन्न सार्वजनिक कार्यक्रममा प्रस्तुत गर्न थालेको उल्लेख गर्दै उनले मौलिक कला र संस्कृतिको संरक्षण सबैको साझा दायित्व भएको बताए । नयाँ पुस्तालाई परम्परागत नाच र संस्कृतिसँग जोड्न सके मात्रै पुस्तौँदेखि चल्दै आएका मौलिक पहिचानलाई निरन्तरता दिन सकिने उनको भनाइ छ ।
विद्यालयका विद्यार्थीले केही समयअघि प्रशिक्षक विजय घर्तीबाट सेरेङ्गे नाचको प्रशिक्षण लिएका थिए । प्रशिक्षणका क्रममा नाचका चाल, ताल र प्रस्तुति शैली सिकेका विद्यार्थीले अहिले वडाभित्र आयोजना हुने विभिन्न सार्वजनिक तथा सांस्कृतिक कार्यक्रममा आफ्नो प्रतिभा प्रदर्शन गरिरहेका छन् । सिकेको सीपलाई विद्यालय परिसरबाट बाहिर सार्वजनिक मञ्चसम्म पुर्याउन थालेपछि विद्यार्थीमा समेत मौलिक संस्कृति संरक्षणप्रति उत्साह बढेको छ ।
विद्यार्थीलाई नाच सिकाउन तथा आवश्यक सामग्री व्यवस्थापन गर्न स्थानीय समाजसेवी रमेश बुढाले महत्वपूर्ण सहयोग गरेका छन् । सेरेङ्गे नाच प्रदर्शनका लागि आवश्यक सामग्रीको व्यवस्था उनैले गरिदिएका हुन् । स्थानीयस्तरबाट प्राप्त यस्तो सहयोगले मौलिक कला संरक्षणको अभियानलाई थप सहज बनाएको छ ।
सेरेङ्गे नाच सल्यानसहित रुकुम र रोल्पा क्षेत्रमा प्रचलित पुरानो लोकनृत्य हो । मयूरका प्वाँखबाट तयार गरिएको विशेष सामग्री पछाडि बाँधेर समूहमा प्रस्तुत गरिने यो नाच धार्मिक, सांस्कृतिक तथा सामाजिक उत्सवमा प्रदर्शन गर्ने परम्परा छ । नाचका विशिष्ट चाल, समूहगत तालमेल, भेषभूषा र परम्परागत बाजागाजाले यसको मौलिकता झल्काउँछन् ।
यद्यपि, आवश्यक सामग्रीको व्यवस्थापन, अनुभवी प्रशिक्षकको उपलब्धता र निरन्तर सामूहिक अभ्यासको अभावमा यस्ता परम्परागत नाचको निरन्तरता चुनौतीपूर्ण बन्दै गएको छ । पुराना पुस्तामा रहेको सीप नयाँ पुस्तामा हस्तान्तरण हुन नसक्दा मौलिक लोककला हराउँदै जाने जोखिम पनि उत्तिकै छ ।
यस्तो अवस्थामा विद्यालय तहबाटै विद्यार्थीलाई परम्परागत नाचको प्रशिक्षण दिएर सार्वजनिक कार्यक्रममा सहभागी गराउनु संस्कृतिको पुस्तान्तरणका दृष्टिले महत्वपूर्ण प्रयास हो । बालबालिकालाई सानै उमेरदेखि आफ्नो मौलिक कला, संस्कृति र परम्परासँग परिचित गराउन सके मात्रै यस्ता सांस्कृतिक सम्पदाको संरक्षण र निरन्तरता सम्भव हुने संस्कृति प्रेमीहरूको भनाइ छ ।
