सल्यान, २१ कार्तिक । तिहारको अवसरमा सल्यानको छत्रेश्वरीमा विद्यार्थीले परम्परागत […]
सल्यान, २१ कार्तिक ।
सल्यानबाट पाँच लाख रुपैयाँ लगानीमा सुरु भएको एउटा सानो नर्सरी व्यवसायको उत्पादन अहिले देशका करिब ४० जिल्लासम्म फैलिएको छ । फलफूल तथा जडीबुटीका बिरुवा उत्पादन र बिक्री गर्दै आएका युवा उद्यमी नवराज वलीले आफ्नो व्यवसायलाई दाङसम्म विस्तार गर्दै यस वर्ष ११ क्विन्टल सयपत्री फूल उत्पादन गरेका छन् ।
बागचौर नगरपालिका–९ का ३५ वर्षीय वलीले करिब एक दशकअघि कृषि व्यवसायमा सम्भावना खोज्दै नर्सरी सञ्चालन गरेका थिए । सीमित लगानीबाट सुरु भएको उनको व्यवसाय अहिले वार्षिक करिब ५० लाख रुपैयाँको कारोबार गर्ने अवस्थामा पुगेको छ । बिरुवा उत्पादनमा पहिचान बनाएका उनले पछिल्लो तीन वर्षदेखि दाङमा समेत व्यावसायिक रूपमा नर्सरी तथा फूलखेती गर्दै आएका छन् ।
दाङको तुलसीपुर उपमहानगरपालिका–८, दुधेनमा रहेको ओली एग्रो एन्ड नर्सरी फर्म मार्फत उनले यस वर्ष सात कठ्ठा जमिनमा सयपत्री फूल खेती गरेका हुन् । करिब एक हजार २०० बिरुवा रोपेर सुरु गरिएको खेतीबाट झन्डै ११ क्विन्टल फूल उत्पादन भएको छ । तिहारलाई लक्षित गरी गरिएको उत्पादन अहिले बिक्रीको तयारीमा छ ।
तिहारमा सयपत्री फूलको माग उच्च हुने भएकाले फर्मले अग्रिम बुकिङ समेत खुला गरेको छ । तिहारका साथै विभिन्न पूजा, समारोह तथा विशेष कार्यक्रमका लागि थोक र खुद्रा दुवै रूपमा फूल बिक्री गर्ने तयारी गरिएको वलीले बताए । ग्राहकको माग अनुसार फूल उपलब्ध गराउन अग्रिम अर्डर लिन थालिएको उनको भनाइ छ ।
तर उत्पादन बढ्दै जाँदा बजार र मूल्य व्यवस्थापन चुनौतीका रूपमा देखिन थालेको छ । गत वर्ष सयपत्री फूल प्रतिकिलो ४५० रुपैयाँभन्दा बढीमा बिक्री भएको थियो । यस वर्ष विभिन्न क्षेत्रमा उत्पादन बढेकाले मूल्य केही घट्न सक्ने वलीको अनुमान छ ।
“उत्पादन राम्रो हुनु मात्रै पर्याप्त हुँदैन, उत्पादित वस्तुले उचित बजार र मूल्य पनि पाउनुपर्छ । यस वर्ष धेरै ठाउँमा फूलखेती बढेको छ । त्यसैले उत्पादनसँगै बजार व्यवस्थापनमा पनि ध्यान दिनुपर्ने देखिन्छ,” उनले भने ।
दुधेनमा करिब १४ कठ्ठा जमिनमा नर्सरी तथा फूलखेती गर्दै आएका वलीले बिरुवा उत्पादनसँगै फूल खेतीलाई पनि व्यवसायको अर्को आधार बनाउने योजना बनाएका छन् । एउटै व्यवसायमा निर्भर नरही कृषि उत्पादनलाई विविधीकरण गर्ने उनको प्रयास छ ।
उनको व्यावसायिक यात्राको आधार भने सल्यानमै छ । करिब १० वर्षअघि पाँच लाख रुपैयाँको प्रारम्भिक लगानीमा स्थापना गरेको वली नर्सरी फर्म अहिले करिब १५ रोपनी क्षेत्रफलमा फैलिएको छ । नर्सरीमा सुन्तला, कागती, टिमुर, ओखर, किवीलगायत फलफूल तथा विभिन्न प्रजातिका घाँसका बिरुवा उत्पादन हुँदै आएका छन् ।
कलमी र बिजु दुवै प्रकारका बिरुवा उत्पादन गर्ने फर्मले देशका करिब ४० जिल्लामा बिरुवा पुर्याउँदै आएको छ । बजारको मागअनुसार बिरुवा उत्पादन र वितरण गर्दै जाँदा व्यवसाय विस्तार भएको वली बताउँछन् ।
“सुरुमा पाँच लाख रुपैयाँ लगानी गरेर व्यवसाय थालेको थिएँ । त्यसबेला यति धेरै जिल्लामा बिरुवा पठाउन सकिएला भन्ने सोचेको थिएनँ । अनुभव, मेहनत र बजारको माग अनुसार काम गर्दै जाँदा व्यवसाय विस्तार हुँदै गयो । कृषिमा निरन्तरता दिन सकियो भने राम्रो सम्भावना छ भन्ने आत्मविश्वास बढेको छ,” उनले भने ।
अब उनको योजना नर्सरीलाई थप विविधीकरण र व्यवस्थित बनाउने छ । परम्परागत फलफूलका बिरुवासँगै बजारमा माग रहेका बहुमूल्य जडीबुटी तथा सजावटका बिरुवा उत्पादन गर्ने तयारीमा उनी छन् । गुणस्तरीय बिरुवा उत्पादन मार्फत किसानलाई सहयोग पुर्याउनुका साथै कृषि व्यवसायलाई रोजगारी र आम्दानीको माध्यम बनाउने उनको लक्ष्य छ ।
सल्यानमा बिरुवा उत्पादन गरेर देशका विभिन्न जिल्लामा बजार बनाएका वलीले दाङमा फूलखेती विस्तार गर्नुको उद्देश्य पनि कृषि व्यवसायलाई एउटै उत्पादनमा सीमित नराख्नु हो । नर्सरीबाट सुरु भएको उनको उद्यम अहिले बिरुवा उत्पादन, वितरण र फूल खेतीसम्म फैलिएको छ ।
तिहारका बेला बाहिरबाट आउने फूलको मागलाई स्थानीय उत्पादनले समेत धान्न सक्ने सम्भावना उनको प्रयासले देखाएको छ । व्यावसायिक फूलखेतीप्रति किसानको आकर्षण बढाउन पनि उनको मिहेनत उदाहरणीय छ ।
