वडा अध्यक्ष कप: खेलकुदसँगै कला, संस्कृति र समुदायलाई जोड्ने साझा उत्सव

सल्यान, १९ कार्तिक ।

छत्रेश्वरी गाउँपालिका, ५ लेखपोखरामा छैटौँ वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु भएको छ । वडाको वार्षिक खेलकुद उत्सवका रूपमा आयोजना गरिएको प्रतियोगिता बुधबारदेखि गरिपारे खेलमैदानमा सुरु भएको हो ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित सञ्चालन भएको प्रतियोगिता कार्तिक २० गतेसम्म चल्नेछ । प्रतियोगितामा खेलकुदसँगै मौलिक कला, संस्कृति र मनोरञ्जनलाई समेत प्राथमिकता दिइएको छ । यस प्रतियोगिताले वडाका विभिन्न टोलका नागरिक, खेलाडी तथा स्थानीय समुदायलाई एउटै उत्सवमा जोड्ने अपेक्षा गरिएको छ ।

बुधबार भएको उद्घाटन समारोहमा प्रतिनिधिसभा सदस्य रमेश मल्ल, गाउँपालिका अध्यक्ष ओजबहादुर बुढाथोकी, गाउँपालिका उपाध्यक्ष बुद्धकुमारी खत्री, वडा नं. २ का अध्यक्ष प्रेमबहादुर नेपाली, वरिष्ठ कलाकार खर्कबहादुर बुढालगायत जनप्रतिनिधि, कर्मचारी, खेलप्रेमी तथा स्थानीयवासीको सहभागिता थियो ।

प्रतियोगितामा टोलस्तरीय महिला तथा पुरुष भलिबल मुख्य आकर्षणका रूपमा रहनेछ । त्यसैगरी पुरुष तथा महिलाबीच घैँटोफोड, बोरा दौड, लोकदोहोरी र पुराना लोकभाकाका प्रतियोगितासमेत समावेश गरिएको वडा नं. ५ का अध्यक्ष फौदबहादुर बस्नेतले जानकारी दिए ।

नयाँ पुस्तामा प्रतिभा पहिचान र अभिव्यक्ति क्षमता विकास गर्ने उद्देश्यले १३ देखि २७ वर्ष उमेर समूहका लागि सर्फुट तथा वक्तृत्वकला प्रतियोगिता पनि आयोजना गरिएको छ ।

स्थानीयस्तरमा खेलकुदको विकास गर्ने, युवामा खेलप्रतिको आकर्षण बढाउने र गाउँघरमा लुकेर रहेका खेल प्रतिभाको पहिचान तथा प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता राखिएको वडा कार्यालयले जनाएको छ । खेलकुदसँगै परम्परागत लोकभाका र सांस्कृतिक गतिविधिलाई जोडिएकाले यसले स्थानीय मौलिकता र सामाजिक सद्भावको संरक्षणमा समेत टेवा पुर्‍याउने विश्वास गरिएको छ ।

वडाका सबै टोल, युवा, महिला समूह र स्थानीय समुदायको सहभागितामा मनाइने भएकाले छत्रेश्वरी ५ को वडा अध्यक्ष कप केवल खेलकुद प्रतियोगिता साझा उत्सवका रूपमा स्थापित हुँदै गएको छ ।

उद्घाटन समारोहमा कार्यपालिका सदस्य तिला घर्तीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन वडा सव इन्जिनियर दिलीप कँवर मगरले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस