सल्यान, १४ कार्तिक । सल्यानमा एक पुरुषको शव खोलामा फेला […]
सल्यान, १३ कार्तिक ।
राष्ट्रिय युवा संघ नेपाल कालिमाटी गाउँपालिका सल्यानको नया नेतृत्व चयन भएको छ । शुक्रबार सम्पन्न १२औँ पालिका अधिवेशनले सन्तोष पुनको अध्यक्षतामा १५ सदस्यीय नयाँ कमिटी सर्वसम्मत चयन गरेको हो ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) को जनवर्गीय संगठनको रुपमा रहेको यस संघको नवनिर्वाचित पालिका कमिटी उपाध्यक्षमा अनिल खत्री, सचिवमा खिमबहादुर कवर र उपसचिवमा खड्कबहादुर घर्ती सहित १५ सदस्यीय कमिटी चयन भएको हो ।
अधिवेशनमा नेताहरूले पछिल्लो राजनीतिक घटनाक्रम, एमालेमाथि भइरहेको राजनीतिक घेराबन्दी र वर्तमान सरकारको कार्यशैलीप्रति टिप्पणी गरेका थिए । उनीहरूले राजनीतिक अस्थिरता, अराजकता र सामाजिक विभाजनले मुलुकलाई थप संकटतर्फ धकेलिरहेको आरोप लगाउँदै विभिन्न विवाद र काण्डले सरकारप्रतिको जनविश्वास कमजोर बन्दै गएको बताएका हुन् ।
अधिवेशनलाई सम्बोधन गर्दै राष्ट्रिय युवा संघ नेपाल सल्यानका अध्यक्ष प्रेम घर्ती, एमाले कालिमाटी गाउँपालिका अध्यक्ष केशर बुढा, एमाले जिल्ला कमिटी सदस्य रवीलाल बस्नेत, एमाले कालिमाटी गाउँपालिका उपाध्यक्ष बेलबहादुर चन्द, उपसचिव टोपेन्द्र कार्की, युवा संघ जिल्ला कमिटी उपाध्यक्ष टेकन सुवेदी, जिल्ला कमिटी लेखा समिति सचिव शशी वलीले समसामयिक राजनीति र संगठनको भूमिकाबारे धारणा राखेका थिए ।
एमालेमाथि चौतर्फी प्रहार भइरहे पनि पार्टी आफ्नो विचार, सिद्धान्त र राष्ट्रिय राजनीतिक जिम्मेवारीबाट विचलित नहुने उल्लेख गर्दै नेताहरूले एमाले नै राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र राजनीतिक स्थायित्वको पहरेदार भएको दाबी गरेका छन् । राजनीतिक रूपमा फैलाइने भ्रम र घेराबन्दीको जवाफ युवा शक्तिले वैचारिक स्पष्टता, संगठनात्मक एकता र सक्रियताबाट दिनुपर्ने उनीहरूको भनाइ थियो ।
अधिवेशनमा ४ नम्बर वडा कमिटी अध्यक्ष भुवनेश्वर खराल र महिला प्रतिनिधि दिलमाया वली लगायतले पनि अधिवेशनलाई सम्बोधन गरेका थिए ।
अधिवेशनमा लालबहादुर रानाले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको संचालन प्रेम प्रकाश रानाले गरेका थिए ।
