सवारी चालक अनुमति पत्र (लाइसेन्स) को अनलाइन आवेदनमा कोटा सिस्टम हट्ने

२८ पुष २०७७, मंगलवार

सवारी चालक अनुमति पत्र (लाइसेन्स) को अनलाइन आवेदन फारम भर्न लागू गरिएको कोटा सिस्टम हट्ने भएको छ।

यसको लागि सर्भरको क्षमता बढाउने, लोड म्यानेजमेन्ट लगायतको काम भइरहेको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिएका छन ।‘ सेवाग्राहीबाट फारम भर्न कठिन भयो भन्ने गुनासो धेरै आयो त्यसकारण (अनलिमिटेड) बनाउन लागेका हमालले बताएका छन ।

तयारी पूरा भए बिहीबारबाट अनलिमिटेड बनाउने र त्यो दिन सम्भव नभए आइतबारदेखि गर्ने उनले जानकारी दिए।

यसरी फारम भर्दा एकैपटक धेरैले भरे पनि सिस्टमले वेटिङमा राखेर बायोम्याट्रिकको मिति तोक्ने उनले बताए।

यातायात व्यवस्था विभागले गत पुस १० गते सूचना जारी गर्दै स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य सम्बन्धी मापदण्डहरू पालन गर्ने व्यवस्था गरी १४ गतेदेखि आवदेन खुला गरेको थियो।

आवेदन खुला भए पनि कोटा सिस्टम फारम भर्नेको संङ्ख्या अधिक भएकोले अधिकांश सेवाग्राही फारम भर्नबाट बञ्चित थिए।

प्रतिक्रिया दिनुहोस