बाढीपछी राहत सहयोग तथा नागरिकको खोजीमा सल्यानका स्थानीय तह सक्रिय

 

सल्यान, ११ भदौ ।

सल्यानका स्थानीय तहहरू राहत सहयोग र आफ्ना नागरिकको खोजीमा सक्रिय भएका छन् । सल्यानको त्रिवेणी गाउँपालिकाले बाढीपछि सम्पर्कविहीन भएका आफ्ना ११ जना नागरिकको खोजीका लागि प्रतिनिधिमण्डल नै प्रभावित क्षेत्रमा पठाउने तथा राहत कोषमा रकम जम्मा गर्ने निर्णय गरेको छ । यस्तै कुमाख गाउँपालिकाले पनि विपद्पीडितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।

त्रिवेणी गाउँपालिका विपद् व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा संस्थागत रूपमा एक लाख ५० हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । उक्त रकम एक-दुई दिनभित्र कोषमा जम्मा गरिने गाउँपालिका अध्यक्ष खिमबहादुर रावतले जानकारी दिनुभयो ।

त्रिवेणीका ११ जना नागरिक बाढीपछि अझै सम्पर्कविहीन रहेकाले उनीहरूको अवस्था पत्ता लगाउन गाउँपालिकाका प्रतिनिधि प्रत्यक्ष रूपमा प्रभावित क्षेत्रमा जाने तयारीमा छन्। अध्यक्ष रावतका अनुसार शुक्रबार बिहान करिब ८ बजे गाउँपालिकाको टोली प्रभावित क्षेत्रतर्फ प्रस्थान गर्नेछ।

“आफन्तिहरूलाई पनि सँगै लिएर जान्छौं,” अध्यक्ष रावतले भन्नुभयो, “एउटा गाउँपालिकाकै गाडी छ, अर्को एउटा गाडी पनि रिजर्भ गरेका छौं ।” प्रतिनिधिमण्डलले सुरुमा चितवन पुगेर त्यहाँको प्रशासनसँग समन्वय गर्ने र त्यसपछि सम्पर्कविहीन नागरिकको खोजीका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने तयारी गरेको गाउँपालिकाले जनाएको छ । टोलीमा गाउँपालिकाका प्रतिनिधिसँगै बेपत्ता तथा सम्पर्कविहीन नागरिकका आफन्तसमेत रहनेछन् ।

तिब्बततर्फबाट आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा मजदुरी तथा रोजगारीका सिलसिलामा पुगेका सल्यानका विभिन्न स्थानीय तहका नागरिकसमेत प्रभावित भएका छन् । बाढीपछि केही नागरिक घाइते भएका छन् भने ठूलो संख्यामा रहेका मजदुर तथा अन्य नागरिकको सम्पर्क अवस्था यकिन गर्ने काम भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस