गरिमालाइ न्याय र बालसुरक्षाको माग गर्दै सल्यानमा विद्यार्थी प्रदर्शन

सल्यान, ८ भदौ ।

बाराकी तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा दोषीमाथि कडा कारबाही र सुरक्षित समाजको माग गर्दै सल्यानका विद्यार्थी आन्दोलित भएका छन् । एमएम एकेडेमी बाल क्लबको आयोजनामा सदरमुकाम खलंगामा सोमबार विद्यार्थीले र्यालीसहित प्रदर्शन गरेका हुन् ।

खलंगा बजार परिक्रमा गरी पुरानो बसपार्क पुगेर कोणसभामा परिणत भएको उक्त प्रदर्शनमा सहभागी विद्यार्थीले ‘गरिमालाई न्याय दे’, ‘बालबालिकामाथिको हिंसा बन्द गर’ र ‘सुरक्षित समाजको ग्यारेन्टी गर’ जस्ता नारा लगाएका थिए ।

कोणसभामा बोल्दै एमएम एकेडेमीमा अध्ययनरत छात्रा समीक्षा केसी, हेड गर्ल प्राप्ति देवकोटा, जेनिशा पुन, गरिमा कुमाइ र दीपा कवरले घटनाको कडा शब्दमा भर्त्सना गरे ।उनीहरूले न्यायको अर्थ दोषीलाई सजाय दिनु मात्र नभएर भविष्यमा कुनै पनि बालबालिकाले यस्तो नियति भोग्न नपर्ने वातावरण सिर्जना गर्नु रहेको बताए । बालबालिकाको सुरक्षाका लागि परिवार, विद्यालय, समुदाय र राज्य सबैको संयुक्त जिम्मेवारी हुनुपर्नेमा उनीहरूको जोड थियो ।

बाराको जितपुरसिमरा उपमहानगरपालिका–१, भक्तिनगरकी तीन वर्षीया गरिमा चौधरी गत साउन ३१ गते बिहान आफ्नै घरबाट बेपत्ता भएकी थिइन् । खोजी गर्ने क्रममा भदौ २ गते घरनजिकै रहेको एक खाली घरभित्र उनको शव फेला परेको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धान तथा पोस्टमार्टम रिपोर्टबाट बालिकामाथि जबरजस्ती करणी गरी हत्या गरिएको पुष्टि भएको छ । यस जघन्य अपराधको खबर सार्वजनिक भएसँगै देशभर आक्रोश बढेको छ भने सल्यानमा पनि बालबालिकाहरू स्वस्फूर्त रूपमा सडकमा उत्रिएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस