सल्यान, १३ भदौ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन […]
सल्यान, १३ भदौ ।
रसुवा तथा नुवाकोट क्षेत्रमा आएको बाढीपछि सम्पर्कविहीन भएका सल्यानको त्रिवेणी गाउँपालिकाका ११ जना नागरिकको खोजी तथा पहिचानका लागि खटिएको गाउँपालिकाको टोली चितवनसम्म पुग्दा पनि कुनै सकारात्मक जानकारी प्राप्त नभएपछि अघि बढेको छ ।
गाउँपालिका अध्यक्ष खिमबहादुर रावतको नेतृत्वमा रहेको टोलीले नवलपरासी हुँदै चितवनसम्मका विभिन्न अस्पतालमा पुगेर बाढीमा परी मृत्यु भएकाहरूको शव हेर्दै बेपत्ता नागरिकको पहिचान गर्ने प्रयास गरेको थियो । तर अहिलेसम्म त्रिवेणीका ११ जना नागरिकमध्ये कसैको पनि अवस्था पुष्टि हुन नसकेको गाउँपालिकाले जनाएको छ । अब टोलि नुवाकोट, रसुवातर्फ अघि बढेको छ ।
टोलीमा गाउँपालिका अध्यक्ष रावतसहित वडा नम्बर ४ का अध्यक्ष छबिराज शर्मा, स्वास्थ्य शाखा प्रमुख प्रभातकुमार श्रेष्ठ, वरिष्ठ लेखा अधिकृत पुष्पकमल ओली, हराइरहेका नागरिकका आफन्त सहभागी छन् ।
खोजी तथा पहिचान कार्यमा वडा नम्बर ६ का अध्यक्ष खेम बोहरा तथा नेकपा एमाले त्रिवेणी गाउँपालिका अध्यक्ष डिल्ली खड्का पनि सहभागी छन् ।
टोलीले यसअघि लुम्बिनी प्रादेशिक अस्पताल, पिपरा अस्पताल, मध्यबिन्दु अस्पताललगायत चितवन आसपासका अस्पतालमा राखिएका शवहरूको पहिचान गर्ने प्रयास गरेको थियो । तर त्यहाँबाट कुनै सकारात्मक जानकारी प्राप्त नभएपछि टोली अब नुवाकोट र रसुवातर्फ अघि बढेको डिल्ली खड्काले जानकारी दिनुभयो ।
गाउँपालिकाका अनुसार टोलीले अब बाढीबाट बढी प्रभावित नुवाकोट र रसुवा क्षेत्रका अस्पताल तथा सम्भावित स्थानमा पुगेर बेपत्ता नागरिकको खोजी र पहिचानको प्रयास गर्नेछ ।
