कालिमाटीले २ लाख राहत कोषमा जम्मा गर्ने, बेपत्ता नागरिकको खोजीमा जाने

सल्यान, १२ भदौ ।

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा खोजीका लागि सल्यानको कालिमाटी गाउँपालिकाले सक्रियता बढाएको छ ।

गाउँपालिकाको स्थानीय विपद् व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो । गाउँपालिकाको स्थानीय विपद् व्यवस्थापन कोषबाट उक्त रकम प्रदान गरिने जनाइएको छ ।

बैठकले बाढीका कारण ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ ।

भोटेकोशी बाढीका कारण कालिमाटी गाउँपालिकाका दुई जना नागरिक सम्पर्कविहीन भएका छन् । कालिमाटी गाउँपालिका–३ का भुपेन्द्रबहादुर खत्री र वडा नम्बर १ का भुपेन्द्रबहादुर रावत बाढीपछि सम्पर्कमा नआएको गाउँपालिकाले जनाएको छ ।

सम्पर्कविहीन नागरिकको खोजी तथा उद्धारमा सहजीकरण गर्न गाउँपालिका अध्यक्ष दानबहादुर खत्री (के.सी.) को नेतृत्वमा जनप्रतिनिधि, कर्मचारी तथा बेपत्ता नागरिकका आफन्तसहितको टोली प्रभावित क्षेत्रतर्फ जाने निर्णयसमेत बैठकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस