काठमाडौं । जेठ १६ गतेदेखि हुने १२ कक्षाको परीक्षा समय […]
राष्ट्रिय परीक्षा बोर्डले कोरोनाका कारण रोकिएर ढिला गरी लिइएको कक्षा १२ परिक्षाको नतिजा महिना दिनभित्रै सार्वजनिक गर्न तयारी गरेको छ ।
विद्यार्थीको शैक्षिक सत्र प्रभावित नहुने गरी कक्षा १२ को परीक्षा दिएका विद्यार्थीले पौष १५ भित्र नतिजा पाउने भएका छन् । यसका लागि देशभरका शिक्षकहरू सित समन्वयमा काम भइरहेको जनाइएको छ ।
विद्यालयमा सम्बद्ध विषयको शिक्षकले नै यसपटक विद्यार्थीको उत्तरपुस्तिका परीक्षण गर्ने भएकोले एक साताभित्र यो काम पूरा हुने विश्वास गरिएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले बताउनुभयो । यसपटक कोरोनाका कारण सबै विद्यार्थीलाई आफूले नै अध्ययन गरेको विद्यालयमा परीक्षा दिने अवसर बोर्डले उपलब्ध गराएको थियो ।
कोरोनाबाट प्रभावित विद्यार्थी परीक्षामा सहभागी हुँदा अन्य विद्यार्थीलाई सङ्क्रमणको समेत त्रास हुने भएकोले सङ्क्रमित विद्यार्थीलाई पुनः परीक्षा लिने निर्णय बोर्डले यसअघि नै गरिसकेको छ ।
कोरोना कहरबीच स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्दै मंसिर ९ बाट ४ हजार १ सय ५ वटा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो ।
४ लाख ३२ हजार ५ सय परीक्षार्थी परीक्षामा सहभागी भएका थिए । प्रदेश कार्यालयले विद्यार्थीको प्राप्तांक पठाएपछि केन्द्रीय सर्वरमा नम्बर इन्ट्रीको काम थालिने बोर्डले जनाएको छ ।
परीक्षार्थीको ४० प्रतिशत पूर्णांक कक्षा ११ को आधारमा मूल्यांकन गरिँदै छ । २० प्रतिशत अंक विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा दिइनेछ । आन्तरिक मूल्यांकन र प्रयोगात्मक परीक्षाको अंक विद्यालयहरूले बोर्डमा पठाइसकेका छन् । सैद्धान्तिकतर्फको संक्षिप्त परीक्षाको अंक, कक्षा ११ को प्राप्तांक र आन्तरिक मूल्यांकनको अंक एकमुष्ट जोडेर विगतमा जस्तै ग्रेडिङ पद्धतिमा कक्षा १२ को यस वर्षको नतिजा प्रकाशन हुनेछ । विद्यार्थीलाई बोर्डले नै ग्रेडसिटलगायतको प्रमाणपत्र दिनेछ ।