सल्यानका २३६७ किशोरीहरुलाइ क्यान्सरविरुद्ध खोप लगाइँदै

सल्यान, २४ भदौ ।

सल्यानमा दुई सय बढी खोप केन्द्रबाट किशोरीहरुलाइ पाठेघरको मुखको क्यान्सर विरुद्ध एचपीभी (ह्युमन प्यापिलोमा भाइरस) खोप लगाउन सुरु गरिएको छ । यस बर्ष जिल्लाका दश पालिकामा दुई हजार ३६७ जना किशोरीहरुलाइ खोप दिने लक्ष्य रहेको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ । बुधबारबाट सुरु भएको यो अभियान यही शुक्रबारसम्म चल्नेछ ।

कार्यालयका जनस्वास्थ्य अधिकृत तथा खोप कार्यक्रम अधिकृत तारा रिजालले कक्षा ६ मा अध्ययनरत १४९ बिद्यालयका दुई हजार २७० जना र बिद्यालय नजाने १० बर्ष उमेरका ९७ जना किशोरीहरुलाइ एचपिभी खोप दिन लागिएको जनाउनुभयो ।

बागचौर नगरपालिकाका ३४४, बनगाड कुपिण्डे नगरपालिकाका ३२९, त्रिवेणी गाउँपालिकाका ३१४, शारदा नगरपालिकाका ३११, दार्मा गाउँपालिकाका २१८, कपुरकोट गाउँपालिकाका १८५, कुमाख गाउँपालिकाका १७९, कालीमाटी गाउँपालिकाका १६३, छत्रेश्वरी गाउँपालिकाका १५४ र सिद्धकुमाख गाउँपालिकाका १३० जना किशोरीहरूलाई खोप दिने लक्ष्य छ ।

उक्त लक्षित संख्यालाई समेट्न र अनुमानित २३८ भायल खोप खेर जाने दरलाई समेत ध्यानमा राखेर जिल्लाभर कुल दुई हजार ६ सय १८ भायल खोपको व्यवस्थापन गरिएको पनि जनस्वास्थ्य अधिकृत रिजालले जनाउनुभयो । उहाँका अनुसार संघबाट प्रदेशको स्टोरमा आउने यो खोप त्यहाँबाट जिल्ला हुँदै पालिकास्तरमा पठाइएको छ ।

पालिकाहरुले नौ हजार बढीको अनुमानित विवरण पठाएको भएपनी गत बर्ष जिल्लाभर २३७६ जनालाई यो खोप लगाइएको थियो । महिलाहरूमा देखिने पाठेघरको मुखको क्यान्सरको मुख्य कारण एचपीभी भाइरसको संक्रमण मानिएको छ । किशोरी अवस्थामै संक्रमण हुनुपूर्व यो खोप दिएमा भविष्यमा हुनसक्ने क्यान्सरको जोखिम ९९ प्रतिशतसम्म कम हुने भएकाले यसलाई अत्यन्तै प्रभावकारी र महत्वपूर्ण रोकथामका रूपमा मानिन्छ ।

जिल्लाका सबै स्थानीय तहहरूसँग समन्वय गरेर खोप अभियान सञ्चालन गरिएको हो । विद्यालयमा रहेका किशोरीलाई विद्यालयमा नै खोप केन्द्र निर्माण गरी खोप दिइरहेको छ भने विद्यालय नजाने किशोरीलाई स्वास्थ्य संस्थाकै खोप केन्द्रमार्फत खोप लगाइने छ ।

प्रतिक्रिया दिनुहोस