जनगणना २०७८ सम्पन्न गर्न चार अर्ब बजेट चाहिने,शिक्षकको प्रयोग नहुने

२०७७ कार्तिक २५ मंगलबार

हरेक १० वर्षको अन्तरमा गरिँदै आएको राष्ट्रिय जनगणना अन्र्तगत बाह्रौँ जनगणना ०७८ मा ४ अर्ब रुपैयाँ खर्च हुने केन्द्रीय तथ्यांक विभाग जनसंख्या शाखा ले जनाएको छ । उनका अनुसार यी सबै काम सम्पन्न गर्नका लागि ५ वर्षको अवधिमा ४ अर्ब रुपैयाँ आवश्यक पर्ने अनुमान छ ।’

सुरु हुन अब २ सय ११ दिन मात्र बाँकी छ ।जनगणना २०७८को मुख्य प्रतिवेदन ०७९ सालसम्म र ०८० सालभित्र सबै क्षेत्रगत र विषयगत प्रतिवेदन प्रकाशित गर्ने केन्द्रीय तथ्यांक विभागको तयारी छ । गणनाका लागि हुने खर्चमध्ये पूर्वतयारी (तालिम, भवन, प्रचार सामग्री) र प्रतिवेदन प्रकाशित गर्न १ अर्ब रुपैयाँ लाग्ने अनुमान छ । त्यसबाहेक गणनाको मुख्य काम तथ्यांक संकलनका लागि ३ अर्ब रुपैयाँ लाग्ने प्रक्षेपण छ ।

तथ्याक संकलन १५ जेठ ०७८ देखि ८ असारसम्म १५ दिन चल्नेछ ।  तथ्यांक संकलनका लागि देशभर ४३ हजार गणक र ९ हजार सुपरिवेक्षक खटिनेछन् । केन्द्रीय तथ्यांक विभागको प्रक्षेपणअनुसार अहिले देशभर ७० लाख परिवार संख्या पुगेको छ । ०६८ सालको जनगणनाअनुसार देशभर ५५ लाख परिवार थियो । त्यस्तै, जनसंख्या ३ करोड नाघेको अनुमान छ ।

अघिल्ला जनगणनाहरूमा तथ्यांक संकलनका लागि शिक्षकको प्रयोग हुँदै आएकोमा अव जनगणनामा शिक्षकको प्रयोग नहुने भएको छ । ‘विगतमा गणकका रूपमा शिक्षकहरूलाई प्रयोग गरिन्थ्यो भने यसपटक खुला विज्ञापनमार्फत गणकहरू छनोट गरिनेछ,’ सोमबार केन्द्रीय तथ्यांक विभाग र आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको भर्चुअल कार्यक्रममा महानिर्देशक श्रेष्ठले भने । तयारीस्वरूप आगामी माघदेखि मास्टर ट्रेनरहरूका लागि तालिम दिन सुरु गरिँदै छ । त्यसैगरी, चैत महिनादेखि ४ महिनाका लागि सबै प्रदेश, जिल्ला र स्थानीय तहमा जनगणना कार्यालय स्थापना गरिँदै छ ।

प्रतिक्रिया दिनुहोस