सल्यान, १७ असोज । सल्यानमा नेकपा (एमाले) निकट राष्ट्रिय युवा […]
सल्यान, १६ असोज । सल्यानको कपुरकोट गाउँपालिका स्थित पालिकास्तरीय हुलाक कार्यालयलाई आधुनिक प्रविधि र उपकरणसहित स्मार्ट हुलाकका रूपमा स्तरोन्नति गरिएको छ । नेपाल सरकारको देशभरका ५० वटा पालिका हुलाक कार्यालयलाई आधुनिक र प्रविधिमैत्री बनाउने योजना अन्तर्गत कपुरकोटको हुलाक कार्यालयलाई पनि स्मार्ट हुलाकका रूपमा विकास गरिएको हो ।
स्मार्ट हुलाकमा स्तरोन्नति भएसँगै कार्यालयमा विभिन्न आधुनिक उपकरण जडान गरिएका छन् । कार्यालयमा ब्रान्डेड डेस्कटप कम्प्युटर, बारकोड प्रिन्टर, वायरलेस बारकोड स्क्यानर, यूपीएस पावर ब्याकअप, ६ टेराबाइट हार्डडिस्क सहितको एनभीआर/सीसीटीभी सुरक्षा प्रणाली, ३–इन–१ प्रिन्टर, ई–हाजिरी मेसिन, नेटवर्क स्विच र राउटर जडान गरिएको छ भने एउटा स्मार्ट फोन पनि उपलब्ध भएको पालिका हुलाक प्रमुख युवराज पोखरेलले जानकारी दिनुभयो ।
यी उपकरणको प्रयोगसँगै कार्यालयको अभिलेख व्यवस्थापन, डाक तथा पार्सल दर्ता र वितरण, कर्मचारी हाजिरी तथा कार्यालयको सुरक्षा निगरानीलाई व्यवस्थित बनाउन सहयोग पुग्ने भएको छ । विशेषगरी बारकोड प्रिन्टर र वायरलेस स्क्यानरको प्रयोगबाट चिठी तथा पार्सललाई डिजिटल प्रणालीमा दर्ता गरी त्यसको अवस्थाबारे अनुगमन गर्न सकिनेछ ।
अब चिठी तथा पार्सल दर्ता गर्दा प्रेषक, प्रापक र गन्तव्यको विवरणसहित युनिक ट्र्याकिङ बारकोड तयार हुने बताइएको छ । उक्त बारकोडका आधारमा डाक कहाँबाट पठाइएको हो, कहाँ पुग्यो र वितरण भयो कि भएन भन्ने विवरण डिजिटल प्रणालीमार्फत हेर्न सकिने व्यवस्था गरिएको छ ।
यसअघि सीमित स्रोतसाधन र जनशक्तिका बीच सञ्चालन हुँदै आएको हुलाक सेवालाई प्रविधिको प्रयोगमार्फत थप व्यवस्थित, छिटो र नागरिकमैत्री बनाउने प्रयास गरिएको हुलाक प्रमुख पोखरेलले बताउनुभयो ।
कपुरकोट हुलाक कार्यालयले चिठीपत्र र पार्सल मात्र नभई सरकारी कागजात समेत नागरिकको घरदैलोमै पुर्याउन थालेको छ । सरकारले हुलाक सेवालाई परम्परागत चिठीपत्र आदानप्रदानमा मात्र सीमित नराखी गभर्नमेन्ट कुरियर सर्भिसका रूपमा विस्तार गर्ने नीति लिएपछि कपुरकोटमा पनि घरदैलो सेवा सुरु गरिएको हो ।
कार्यालयमा प्राप्त भएका राहदानी सम्बन्धित नागरिकको घरमै पुगेर वितरण गर्न थालिएको छ । यसबिचमा कार्यालयमा प्राप्त ७८ थान राहदानी मध्ये सबै राहदानी प्राप्त भएको २४ घण्टाभित्रै दुई जना हल्कारा कर्मचारी मार्फत सम्बन्धित नागरिकको घरमै पुगेर वितरण गरिएको पोखरेलले जानकारी दिनुभयो ।
यसले राहदानी लिनका लागि कार्यालयसम्म धाउनुपर्ने नागरिकको बाध्यता घटाएको छ । आगामी दिनमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) समेत हुलाकमार्फत वितरण गर्ने गरी सम्झौता भइसकेकाले सरकारी कागजात घरदैलोमै पुर्याउने सेवाको दायरा अझ विस्तार हुने कार्यालयले जनाएको छ ।
कपुरकोटमा ‘सेम डे डेलिभरी’
हुलाक कार्यालयले डाक वितरणलाई समेत छिटो र व्यवस्थित बनाउन नयाँ वितरण प्रणाली लागू गरेको छ । कपुरकोट गाउँपालिकाका वडा नं. ३ र ४ मा ‘सेम डे डेलिभरी’ अर्थात् सोही दिन डाक वितरण सुरु गरिएको छ ।
यी दुई वडामा कार्यालयमा डाक प्राप्त भएकै दिन सम्बन्धित व्यक्तिसम्म पुर्याउने व्यवस्था गरिएको हो । गाउँपालिकाका अन्य वडामा भने अधिकतम २४ घण्टाभित्र डाक वितरण गर्ने लक्ष्य राखिएको हुलाक कार्यालयले जनाएको छ ।
यसबाट महत्वपूर्ण कागजात, सूचना तथा अन्य सामग्रीका लागि सेवाग्राहीले लामो समय कुर्नुपर्ने अवस्था कम हुने अपेक्षा गरिएको छ।
२० किलोसम्मको पार्सल पठाउन सकिने
कपुरकोट हुलाक कार्यालयबाट २० किलोग्राम सम्मका सामान देशका जुनसुकै स्थानमा पठाउन सकिने व्यवस्था छ । तुलनात्मक रूपमा सुलभ शुल्कमा पार्सल पठाउन सकिने भएकाले नागरिकले व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका सामान समेत हुलाक मार्फत पठाउन सक्नेछन् ।
देशभरका हुलाक कार्यालयबाट विदेशबाट नेपालमा समेत हुलाकमार्फत पार्सल पठाउन सकिने व्यवस्था रहेको कार्यालयले जनाएको छ ।
‘हुलाक चिठी पठाउने अड्डा मात्र रहेन’
पालिका हुलाक प्रमुख पोखरेलले हुलाक सेवा अहिले चिठीपत्र आदानप्रदान गर्ने परम्परागत कार्यालयमा मात्र सीमित नरहेको बताउनुभयो ।
“हुलाक अब चिठीपत्र पठाउने परम्परागत अड्डा मात्र नरहेर नागरिकलाई प्रत्यक्ष राहत दिने भरपर्दो सरकारी कुरियर सेवाका रूपमा रूपान्तरण भइसकेको छ,” उहाँले भन्नुभयो, “नागरिकहरूले ढुक्क भएर हुलाक प्रदत्त पार्सललगायतका सेवा प्रयोग गर्न सक्नुहुन्छ ।”
प्रविधिको प्रयोगसँगै सेवा प्रवाहलाई घरदैलोमा पुर्याउने प्रयासले हुलाक सेवालाई नागरिकसँग थप जोड्ने अपेक्षा गरिएको छ । कपुरकोट हुलाक कार्यालयले आगामी दिनमा डाक तथा पार्सल वितरणलाई थप छिटो बनाउँदै प्रविधिमैत्री र भरपर्दो सेवा प्रदान गर्ने जनाएको छ ।
