सल्यानमा शिकार खेल्ने क्रममा बन्दुकको गोली लागेर एक जनाको मृत्यु, ६ जना पक्राउ

सल्यान २३ श्रावण २०८३

सल्यानको कालिमाटी गाउँपालिका–३ स्थित धरानी सामुदायिक वनमा साउन २२ गते शिकार खेल्ने क्रममा भरुवा बन्दुकबाट चलेको गोली लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा कालिमाटी गाउँपालिका–२ बराहडुंगा बस्ने अन्दाजी ६२ वर्षीय टोपबहादुर पुन मगर रहेका छन्।

साथीहरूसँग शिकार खेल्न गएका बेला बन्दुकबाट अचानक गोली चल्दा उनको पेटको तल्लो भाग तथा कम्मरमा लागेको थियो। घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय कालिमाटीबाट खटिएको प्रहरी टोलीले घटनास्थल पुगेर अनुसन्धान सुरू गरेको थियो।

सोही क्रममा मृतक पुन मगरसँगै शिकार खेल्न गएका कालिमाटी गाउँपालिका–३ बल्लेका मानबहादुर विक (५६), जुद्रबहादुर रेउले (४३), खुमेन्द्रबहादुर रेउले (३२), सेईतराम थापा (३५), कुलबहादुर बुढाथोकी (५९) र कालिमाटी–२ बराहडुंगाका पदमबहादुर श्रीस मगर (७२) गरी ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेकाहरूमाथि हिरासतमा राखी घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस