युवा संघ सल्यानको १२ औँ अधिवेशन श्रीनगरमा, नयाँ नेतृत्व चयन हुने

सल्यान, १७ असोज ।

सल्यानमा नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालको १२ औँ जिल्ला अधिवेशन शनिबार (आज) हुँदैछ । श्रीनगरमा हुने अधिवेशनले नयाँ जिल्ला नेतृत्व चयन गर्ने राष्ट्रिय युवा संघ सल्यानले जनाएको छ ।

अधिवेशनमा नेकपा (एमाले) का केन्द्रीय, प्रदेश तथा जिल्ला कमिटीका नेताहरू, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय तथा प्रदेश अध्यक्ष सहित पदाधिकारी, अधिवेशन प्रतिनिधि र शुभेच्छुकको सहभागिता रहने संयोजक प्रेम घर्तीले जानकारी दिनुभयो । कतिपय अतिथिहरु शुक्रबार नै सल्यान आइसकेको र अरु अतिथिहरु शनिबार बिहान सल्यान आइपुग्ने उहाँले बताउनुभयो ।

राष्ट्रिय युवा संघका केन्द्रीय अध्यक्ष महाराज गुरुङ, पार्टी केन्द्रिय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज गोबिन्द पुन, युवा संघ कर्णाली प्रदेश इन्चार्ज पन्चमी रेग्मी, कर्णाली प्रदेश अध्यक्ष जीवन शाही, उपाध्यक्ष गणेश शाही तथा छिमेकी जिल्लाबाट समेत युवा संघका नेताहरु अतिथिको रुपमा सहभागी हुनेछन् ।

अधिवेशनले नयाँ जिल्ला नेतृत्व चयन गर्नुका साथै संगठनको आगामी कार्यदिशा र युवासँग सम्बन्धित विषयमा छलफल गर्ने जनाइएको छ । जिल्लाका सबै पालिका तथा विभिन्न क्षेत्रबाट प्रतिनिधित्व हुने भएकाले अधिवेशनलाई जिल्ला संगठनको आगामी नेतृत्व र गतिविधिका दृष्टिले महत्वपूर्ण मानिएको छ ।

संयोजक घर्तीका अनुसार अधिवेशन सम्पन्न गर्न आवश्यक तयारी पूरा भएको छ ।

प्रतिक्रिया दिनुहोस